पाल्पाका विभिन्न जङ्गलमा डढेलो, सावधानी अपनाउन जोड
पाल्पा ।
पछिल्लो समय जिल्लाका विभिन्न सामुदायिक वन र पाखो क्षेत्रमा डढेलो लाग्ने क्रम बढेको छ ।
सुख्खायाम बढ्दै जानु, विभिन्न बाहानामा जान अन्जान र मानिसहरुको लापरबाहीले डढेलो लागेको हो । डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायण देव भट्टराईले धेरै डढेलो मानवीय कारण लाग्ने गरेको बताउनुभयो ।
पात पतिङ्गर पोल्ने, झाडी सफा गरेर डढाउने, प्रज्वलन पदार्थ, चुरोटको ठुटो बेबारिसे फाल्ने जस्ता क्रियाकलापले बढी आगोलागी डढेलो लागेको पाइएको उहाँले बताउनुभयो ।
अहिले जिल्लाको डिभिजन वन कार्यालय नजिकै बनदेवी क्षेत्र, रैनादेवी छहराकाे साेमादि र भुवनपोखरीको सिमानामा पर्ने रानीवन र रामपुर १० को लम्पाल वनमा भिषण डढेलो लागेको स्थानीयको भनाई छ । अन्य ठाउँमा फैलन नदिन, पानीका स्रोत पाइप, जोगाउन तथा बस्तीमा आउन नदिन स्थानीय लागेका छन् । कतिपय स्थानका बस्तीमा जोखिम रहेको र नियन्त्रणको प्रयास भइरहेको छ । जिल्ला बन कार्यालयको टिम समेत आगो निभाउन लागेको छ ।
पछिल्लो एकहप्ता यता धेरै स्थानमा डढेलो लागेको छ । रामपुर ४ मा विभिन्न बनमा केही दिन यता डढेलो लाग्ने निभाउने क्रम चलिरहेको छ ।
जिल्लामा प्रहरी, नेपाली सेना, वनका उपभोक्ता सहित स्थानीय डढेलो निभाउन सक्रिय हुने गरेका छन् ।
डिभिजन वन प्रमुख भट्टराईले डढेलोले फाइदा नभई असर मात्र गर्ने हुँदा सुख्खा समयमा बाहिर जथाभावी आगि नलगाउन र सावधानी अपनाउन अनुरोध गर्नुभएको छ ।