कालीगण्डकी फाउण्डेशन नेपालको आयोजनामा कृत्रिम दात राख्ने शिबिर शुरु
पाल्पा ।
कालीगण्डकी फाउण्डेशन नेपाल पाल्पाको आयोजना र ट्राभल डेन्टिस्ट्री नेपालको प्राविधिक सहयोगमा कृत्रिम दात शिविर शुरु भएको छ ।
दात झरेर खुलेर हास्न, बोल्न र खान नमिल्नेहरुका लागि सामाजिक सस्था कालीगण्डकी फाउन्डेशन नेपालले निशुल्क शिविरको आयोजना गरेको हो ।

शिविरको उद्घाटन गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले दाँत नभएर समस्यामा परेका नागरिकको लागि शिविर वरदान भएको बताउनुभयो । फाउण्डेशनले स्वास्थ्य तथा शिक्षामा दिएको योगदानको प्रशंसा गर्दै उपप्रमुख थापाले नगरपालिकाले पनि सुखी र समृद्ध नगरको लागि स्वास्थ्य र शिक्षामा आवश्यक पहल गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपाने पाचन, बोली र सुन्दरताको लागि दाँतको महत्व रहेको भन्दै नागरिकको मुहारमा चमक ल्याउन शिविरले सहयोग गर्ने बताउनुभयो । स्वास्थ्य क्षेत्रका कमीकमजोरी सुधारका लागि नगरपालिकाले पनि पहल गर्दै आएको छ न्यौपानेले भन्नुभयो । रामपुर नगरपालिकाका प्रवक्ता एवं रामपुर नगरपालिका १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले दाँतले खुशी साट्न मात्र नर्भै दिर्घजिवन जिउन सहज गराउने बताउनुभयो ।

रामपुर अस्पताल विकास समितिका अध्यक्ष रमेश ढकालले दाँतको समस्या भएका नागरिकहरुका लागि शिविर कोसेढुङ्गा भएको बताउनुभयो । रामपुर नगरपालिका ७ का वडा अध्यक्ष दोवराज तिवारीले मानविय सेवामा फाउण्डेशनले दिएको योगदानको चर्चा गर्नुभएको थियो ।
ट्राभल डेन्टिस्ट्री नेपालका संयोजक डाक्टर शंकर श्रेष्ठ र दन्तरोग विशेषज्ञ डाक्टर वर्षा घिमिरेले कृतिम दाँतको उपयोगिता र शिविरमा गरिने चरणबद्ध कामका बारेमा जानकारी दिनुभयो । कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीले दाँत झरेर चपाउन, बोल्न समस्या भएका पाल्पाको रामपुर, निस्दी, पूर्वखोला र रम्भाका नागरिकहरुको लागि शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो ।
कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष पवित्रा पौडेल ढकालको स्वागत र सचिव सीता डोटेलको सञ्चालनमा भएको हो । गत फागुन ७ गते सम्म नाम दर्ता गराएका नागरिकहरुलाई शिबिरमा उपचार पश्चात नि:शुल्क कृतिम दाँत राखिनेछ । पूरा दात झरेर वा ठुटा उखेलेर खाली भएकाको मात्र शिबिरमा दात राखिनेछ ।
होराइजन डेण्टल क्लिनिक बेझाडमा ६ दिनसम्म चल्ने शिबिर बैशाख ८ गते सम्म चल्नेछ ।


