नेपाली सेनाले अंग्रेज फौजलाई परास्त गरेको बुटवलको जितगढी किल्ला सम्म पुग्ने उदेश्यले नेपाली सेनाको नेतृत्वमा टोली गोर्खाबाट पाल्पा हुदै बुटवललाई हिडेको हो। तत्कालिन गोर्खा राज्यका राजा पृथ्वीनारायण शाहले राज्य बिस्तारका क्रममा प्रयोग गरेको बाटो हुदै उक्त टोली पैदलै बुटवल पुग्ने योजना नेपाली सेनाको छ। गोरखादेखि जितगढीसम्म करिव २०७ किलोमिटर दुरी हुनेछ ।
नेपाली सेनाको अगुवाइ एवं गोरखा र पालुङटार नगरपालिकाको सहकार्यमा सुरु भएको यात्रामा तनहुँ पाल्पाका गढी किल्ला रहेका पालिका र जिल्लाका नेतृत्वले स्वागत गर्नेछ । क्याप्टेन राजकुमार श्रेष्ठको नेतृत्वमा सेनाका ५ कम्पनीका ४८ जना सहभागी छन्।
नेपालको राष्ट्रिय झण्डाको साथमा नेपाली सेनाको श्रीनाथ गण, कालिबक्स गण, बर्दवाणी गण, सबुज गण, पुरानो गोरख गण र जितगढी लडाइमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर बाजा गाजासहित पदयात्रा सुरु भएको छ ।
टोलीले सतीघाट पुगेर तनहुँको टोलीलाई झण्डा हस्तान्तरण गर्नेछ । तनहुँको टोलीले पाल्पाको केलादीघाट आई पाल्पालाई र पाल्पाले नुवाकोटगढी पुगेर रुपन्देहीलाई झण्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको रिपुमर्दन गणका गणपति हेमराज विष्टले बताउनुभयो। पाल्पामा केलादीघाट हुँदै प्रबेश गने टोलीले बाकुमगढी, माथागढी, तानसेन- तिनाउ हुँदै रुपन्देही प्रबेश गर्ने दि फेमश महिन्द्र दल गण पाल्पाले जनाएको छ। पाल्पामा जिल्लाका नेपाली सेना, प्रशासन, जिल्ला समन्वय समिति तथा पालिकाका जनप्रतिनिधि र स्थानीयले स्वागत सहित पदयात्रामा आवश्यक समन्वय सहभागी हुने पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
रुपन्देहीको टोलीले वैशाख ७ गते जितगढी उत्सवको बिशेष दिन उक्त झण्डालाई जितगढी पुर्याएपछि यात्रा सम्पन्न हुनेछ।
‘बुटवल उपमहानगरपालिकाको सहकार्यमा नेपाली सेनाले पुननिर्माण गरेको ऐतिहासिक जितगढी किल्ला वैशाख ७ गते प्रधान सेनापतिले उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम छ।
यात्रामा गोरखाको रिपुमर्दन गण, तनहुँको रुरु भैरव दल गण, काली भञ्जन गण, राजदल गण, स्याङ्जाको समरजित गुल्म, पाल्पाको दि फेमस महिन्द्र दल गण र रुपन्देहीको गरुड दल गण प्रत्यक्ष सहभागी हुनेछन्।
यात्रामा निस्किएका टोलीलाई वुधबार एक कार्यक्रमका बीच गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण रानाले नेपाली सेनाका पश्चिम पृतनापति दीपककुमार बानियाँको उपस्थितिमा झण्डा हस्तान्तरण गर्नुभयो।
कार्यक्रममा बोल्दै बानियाँले राज्य विस्तारका क्रममा प्रयोग भएको पदमार्गको प्रचार प्रसार एवं संरक्षणका लागि पदयात्रा सुरु गरिएको बताउनुभयो । विगत पाँच बर्षदेखि नेपाली सेनाको अगुवाइमा गोरखा काठमाडौ एकीकरण मार्गमा पदयात्रा हुदै आएको बताउदै यो गोरखा–जितगढी यात्रालाई पनि निरन्तरता दिने उल्लेख गर्नुभयो ।
नगरप्रमुख रानाले जिल्लाको पर्यटन प्रवद्र्धनमा पदयात्राले सहयोग पुग्ने धारणा राख्नुभयो । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले पुरातात्विक महत्वका बिषयलाई संरक्षण र प्रवद्र्धन गर्न पदयात्राले सहयोग पुग्ने बताउनुभयो।