रामपुर ९ का महिला चप्पल बनाउने सीप सिके
पाल्पा ।
रामपुर नगरपालिका वडा नम्बर ९ का महिला दिदिबहिनिहरुले चप्पल बनाउने सीप सिकेका छन् ।
गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत रामपुर नगरपालिका वडा नं. ९ मा ६ दिने चप्पल बनाउने तालिम संचालन गरिएको थियो ।
तालिम समापन कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानले साना उद्यमका व्यवसाय सञ्चालन गर्न नै किन नहोस् आत्मनिर्भर संगै आर्थिक समृद्धि हुने बताउनुभयो । उहाँले तालिमबाट पाएको ज्ञान र सिप प्रयोग गरि व्यबसायिक बन्न आग्रह गर्नुभयो । स्थानीय कच्चा पदार्थको प्रयोग र स्थानीय उत्पादकलाई बजार र प्रचारमा नगरले सहयोग गर्ने उहाँले बताउनुभयो।
रामपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष डिल बहादुर रानाले तालिम पश्चात ज्ञान सिपको सदुपयोग गर्दै व्यक्तिगत वा सहकार्यको माध्यमबाट चप्पल उत्पादनको उद्यम शुरु गर्न सहभागीलाई आग्रह गर्नुभयो । नगर कार्यपालिका सदस्य तथा उद्यम विकास कार्यक्रम अनुगमन समिति सदस्य मायादेवी नेपालीले तालिम लिने तर व्यवहारमा उतार्न तर्फ ध्यान नजाने परिस्थिति भएको बताउदै चप्पल सबैलाई अति आवश्यक हुने हुँदा बजार पाउने बताउनुभयो ।
भानुभक्त माध्यमिक विद्यालय रामपुर ९ जब्गादीमा ६ दिन सम्म चलेको तालिमको सहजिकरण शोभा कंडेल तिम्सिनाले गर्नु भएको हो ।
वडाध्यक्ष डिल बहादुर रानाको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रम उद्यम विकास कार्यक्रमका कर्मचारी महेन्द्र प्रसाद श्रेष्ठको संचालनमा भएको हो । तालिममा वडा भित्रका १९ जना महिलाहरुको सहभागिता रहेको थियो ।