2

Logo २०८३ बैशाख १३ आइतबार
तिलोत्तमा सरकार सरसफाइमा अब्बल, वातावरण सम्बन्धि ५ घोषणा

तिलोत्तमा सरकार सरसफाइमा अब्बल, वातावरण सम्बन्धि ५ घोषणा


Sabalnews प्रकाशित मिति : बुधबार, चैत्र १ २०७९
638

रुपन्देही ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वातावरणको क्षेत्रमा बुधबार पाँच घोषणा गरेको छ ।

नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियानको १०० औं श्रृंखलामा पुगेको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको मूल समारोहमा नगर प्रमुख रामकृष्ण खाणले वातावरणसँग सम्बन्धित पाँच वटा घोषणा गर्नुभएको हो ।

नगर प्रमुख खाँणले वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान शुरु भएको, नगरमा हर्न निषेध गरिएको, पशु दर्ता प्रणाली सञ्चालनमा ल्याइएको, फोहरमैलाको वर्गीकरण सुरु गरिएको, गुट्खाजन्य पदार्थको बिक्रीमा रोक लगाइएको छ ।

घोषणालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै जाँदा वातावरणमैत्री नगरपालिका निर्माणमा थप टेवा पुग्ने नगरपालिकाले जनाएको छ ।

वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान सुरु

नगर प्रमुख खाणले वातावरणमैत्री समाजको सिर्जनाद्वारा नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हकलाई सुनिश्चित गर्न वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान सुरु भएको घोषणा गर्नुभयो । वातावरण र विपद् व्यवस्थापनको क्षेत्रमा हालसम्म प्राप्त उपलब्धीलाई संस्थागत गराउँदै नेपाल सरकारले जारी गरेको वातावरणमैत्री स्थानीय शासन प्रारुप-२०७८ मा उल्लेखित वातावरणमैत्री स्थानीय शासनका बाँकी सूचकहरु पूरा गराउने कार्यक्रमहरु आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश गरी कार्यान्वयन गर्ने प्रतिबद्धता नगर प्रमुख खाँणले व्यक्त गर्नुभयो ।

उनले प्रारूपमा प्रस्ताव गरिएका सूचकहरू हासिल गर्न सम्पूर्ण नगरबासीदेखि नेपाल सरकारका विभिन्न निकाय, प्रदेश सरकार, अन्य स्थानीय तह, विकास साझेदार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एवम् निजी क्षेत्रबाट यथोचित समन्वय, सहकार्य र प्रोत्साहन प्राप्त हुने विश्वास समेत व्यक्त गरे ।

हर्न निषेधित नगरपालिका घोषणा

सवारीसाधनको हर्नबाट बढ्दो ध्वनि प्रदूषणलाई नियन्त्रण गरी वातावरणमैत्री समाजको निर्माण गर्न तिलोत्तमा नगरपालिकालाई बुधबारबाट हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ ।

यो घोषणासँगै अनावश्यक रुपमा हर्न बजाई नगरको शान्ति भङ्ग गर्ने कार्यलाई निरुत्साहित गरिनुको साथैं एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकललगायत आकस्मिक प्रयोजनमा गुड्नेबाहेकका सवारीसाधनलाई हर्न प्रयोग गर्न निषेध गरिएको नगर प्रमुख खाणले बताउनुभयो।

फोहरमैलाको वर्गीकरण गर्ने कार्य प्रारम्भ

फोहोरमैला संकलन तथा व्यवस्थापन कार्यलाई दीगो र वैज्ञानिक बनाईं वातावरणमैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न बुधबारबाट तिलोत्तमा नगरपालिकामा फोहरमैलाको स्रोतमैं वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग-अलग रुपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ ।

फोहोर वर्गीकरण कार्य प्रारम्भ भएको जानकारी गराउँदै नगर प्रमुख रामकृष्ण खाणले अबका दिनमा आफ्नो घर, व्यवसायिक प्रतिष्ठान, उद्योगधन्दा, कलकारखाना, होटल रेष्टुरेन्ट, कार्यालयलगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग-अलग डष्टबिनको व्यवस्था गर्नु तथा डाइपर, स्यानेटरी प्याड तथा शिशाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोहीअनुरुप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरबासीमा अनुरोध गर्नुभयो।

गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा प्रतिबन्ध

तिलोत्तमा नगरपालिकाले गुट्खा प्रकृतिका सुर्तीजन्य पदार्थको सेवनले जनस्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहोरले नगरको सौन्दर्यतामा समेत असर पारेकोले नगरबासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखेर बुधबारबाट नगरपालिकामा सबै प्रकारका गुट्खाजन्य पदार्थको बिक्री-वितरणमा प्रतिबन्ध लगाएको छ ।

अब उप्रान्त नगरमा गुट्खाजन्य पदार्थको उत्पादन, बिक्री-वितरण र ओसारपसार गरेको पाइएमा स्थानीय कानुनअनुसार दण्ड-जरिवाना हुनेछ ।

पशु दर्ता प्रणाली शुभाम्भ

तिलोत्तमा नगरपालिकाले बुधबारबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ । घर–गोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सडकमा पुर्‍याइरहेको अवरोधले हुनसक्ने दूर्घटना, कृषि बालीको नोक्सानी तथा फोहर नियन्त्रण गर्न पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको नगर प्रमुख खाणले जानकारी गराउनुभयो ।

यसको माध्यमबाट नगरबासीको घर–गोठमा पालिएका सबै पशु चौपायाको लगत अद्यावधिक गरी कुकुरपालन अनुमति पत्र तथा पशुदर्ता प्रमाणपत्र समेत अनलाइनबाटैं लिन सकिने नगरपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com