2

Logo २०८३ बैशाख १४ सोमबार
एकीकृत मगर समाजले रामपुरमा मनायो ४१ औं मगर एकता दिवस तथा बार्षिकोत्सव

एकीकृत मगर समाजले रामपुरमा मनायो ४१ औं मगर एकता दिवस तथा बार्षिकोत्सव


Sabalnews प्रकाशित मिति : बुधबार, फाल्गुन १७ २०७९
799

एकिकृत मगर उत्थान समाज रामपुर पाल्पा र नेपाल मगर संघ रामपुर पाल्पाको संयुक्त आयोजनामा भएको मगर एकता दिवसको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सभा सदस्य खेम बहादुर सारुले मगर सभ्यता र एकताको खाचो रहेको बताउनुभयो । मगर समुदायलाई अघि बढाउन संस्कृतिको संरक्षण गर्दै आफुलाई परिस्कृत गरेर अघि बढ्न चूनौती रहेको बताउनुभयो । “हामीले जुन हिसाबले ईतिहास कायम गर्दै अघि बढेका थियौं, त्यसलाई कायम राख्न सोचमा परिवर्तन गरेर संस्कार र संस्कृति भित्रका विकृति निरुत्साहित गर्दै संस्कृतिको संरक्षण गर्दै परिस्कृत भएर अघि बढ्न टड्कारो आवश्यकता छ”- उहाँले भन्नुभयो ।

रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले पश्चिमा संस्कारको प्रभाव बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै पुर्खाले सुरु गरेको सभ्य संस्कारको जगेर्ना गर्नु आवश्यक रहेको बताउनुभयो । मगर समुदायलाई इमान्दारिता कै कारण विश्वले चिनेको स्मरण गराउँदै भुगोल र विचारले केही पछि परे पनि विचार भावनाले मगर समुदाय धेरै अघि रहेको उल्लेख गर्नुभयो । उहाँले नगरपालिकाले पनि आवश्यक सहयोग गर्न सदा तयार रहेको बताउनुभयो ।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले मगर समुदायलाई आरक्षणमा मात्र सिमित नभै दक्षता र क्षमताको आधारमा अघि बढ्नु पर्ने बताउनुभयो । चापाकोट नगरपालिका उपप्रमुख इशा रानाले फागुन १५ ले मगर समुदायलाई संगठित भएर अघि बढ्ने उत्प्रेरणा दिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले मगर समुदाय गौरवशाली ईतिहास र संस्कृतिले धनी समुदाय रहेको बताउनुभयो । नेपाल मगर संघका केन्द्रिय सदस्य क्याप्टेन धन बहादुर रानाले विगतका इतिहासलाई विर्सिन नहुनेमा जोड दिनुभयो ।

कार्यक्रममा कांग्रेस आदिबासी जनजाति विभागका केन्द्रीय सदस्य बोम बहादुर थापा, नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई, नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष विष्णु प्रसाद रेग्मी, नेकपा माओवादी केन्द्र रामपुरका अध्यक्ष यम बहादुर सुनार, मुस्लिम संघ नेपाल पाल्पाका उपाध्यक्ष मोहम्मद अजिम शेख, नेवा: समाज रामपुरका सचिव विमल श्रेष्ठ, एकिकृत मगर उत्थान समाज रनमपुरका पूर्व अध्यक्ष क्याप्टेन रोमन बहादुर राना, रामपुर नगरपालिकाका नगर प्रवक्ता कपिल बहादुर खाँण, नेपाल मगर संघ रामपुरका निवर्तमान अध्यक्ष थर्क बहादुर राना र दलित वर्ग उत्थान समाज रामपुरका पूर्व अध्यक्ष अर्जुन सुनारले बोल्दै अबको समय भनेको आर्थिक, सामाजिक रुपान्तरण रहेको बताएका थिए ।

दिवस विशेष समारोह पूर्व पञ्चे बाजा सहित मगर संस्कृतिमा आधारित झाँकी, मौलिक भेषभुषामा सजिएका समाजका १७ समुहले भेष भुषामा सहभागि भई हजारौंको उपस्थितिमा बेझाँड बजार परिक्रमा गरेको थियो । कार्यक्रममा सहभागी समुह मध्ये क्रियाशिल मगर समूह रामपुर ७ किसानबारी उत्कृष्ट भई पुरस्कृत भएको छ । समारोहमा मगर संस्कृतिमा आधारित मौलिक सोरठी, झ्याउरे, सालैजो र कौरा प्रस्तुत गरिएको थिय‍ो ।

वार्षिक उत्सवको अवसरमा समूह भित्रका जेष्ठ नागरिक रामपुर नगरपालिका ४ का लिला बहादुर बराल, भिमकुमारी रानालाई सम्मान गरिएको थिय‍ो । कार्यक्रममा मारुनी तथा सालैजो भाका गायक प्रसाद खप्तरी मगर, लोकदोहोरी गायिका निरा थापा मगर र नेपाल आईडलका गोल्डेन माईक विजेता निलिमा थापा मगरको सांगितिक प्रस्तुति रहेको थियो । रामपुर युवाक्लवको परिसर सोमबार दर्शकहरुले भरिभराउ थियो ।

साथै विभिन्न समुहले मगरी खानाका परिकार तरुल, बटुक, सेलरोटी पनि प्रदर्शनी सहित विक्री गरेका थिए ।एकिकृत मगर उत्थान समाजका अध्यक्ष क्याप्टेन देव बहादुर थापा मश्राङ्गीको अध्यक्षता, नेपाल मगर संघ रामपुरका अध्यक्ष राम बहादुर हिस्की थापाको स्वागत र समुहका सहअध्यक्ष नरेन्द्र कुमार जर्घा तथा सहसचिव कमल राना र कल्पना सोमैले संचालन गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com