रामपुरमा पाचौं मेयर कप शुरु
पाल्पा ।
रामपुरमा पाँचौ मेयर कप २०७९ मंगलबार देखि शुरु भएको छ । मेयर कपको पाँचौ सिजनको खेल रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समिति रामपुर पाल्पाको संचालनमा रामपुर नगरपालिका ७ किसानबारीमा शुरु भएको हो ।
मेयर कपको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खेल बिकास र खेलाडी पहिचानका लागि खेलकुदको भुमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । खेलले व्यक्तिगत बिकास जोडेको हुन्छ उसको शारीरिक, मानसिक र एकीकृत समन्वयमा खेलको महत्त्व बढी हुन्छ त्यसैले खेल र खेलकुदको गतिबिधिमा नगरपालिका प्रतिबद्ध छ थापाले भन्नुभयो ।

“उत्कृष्ट, अनुशासित र सक्षम खेलाडीको पहिचान, राष्ट निर्माणमा मेयर कपको अभियान” भन्ने नाराका साथ शुरु भएको मेयर कप उद्घाटन खेल तर्फ फुटवल र भलिबल खेल भएको छ ।
रामपुर नगरपालिका वडा नं. ७ र वडा नं. ९ बिचको फुटबल खेलमा वडा नं. ७ विजयी भएको छ । शुन्यका बिरुद्ध वडा नम्बर ७ ले ७ गोल गरेको थियो ।

यस्तै वडा नं. ३ र ७ विच पहिलो सेट भलिबल खेल भएको छ । खेलमा पहिलो सेट २५-१९ ले वडा नं. ७ ले जितेको छ । भलिबलको बाँकी खेल बुधबार हुनेछ ।

मेयर कप २०७९ अन्तर्गत ६ वटा विधामा सन्चालन गरिएको छ । जसमा वडा स्तरिय पुरुष फुटबल प्रतियोगिता, महिला तथा पुरुष भलिबल प्रतियोगिता, क्रिकेट प्रतियोगिता, व्याडमिन्टन प्रतियोगिता, वडा स्तरिय पुरुष तथा महिला डोरी तान्ने प्रतियोगिता र पुरुष सटफुट प्रतियोगिता हुने नगर खेलकुद विकास समिति रामपुरका अध्यक्ष कमल सेनले जानकारी दिनुभयो । मेयर कप यही फागुन १९ गते सकिनेछ ।
नगर खेलकुद विकास समिति रामपुरका अध्यक्ष कमल सेनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम नगर खेलकुद विकास समिति रामपुरका निवर्तमान अध्यक्ष शंकर बहादुर खाँणको स्वागत र नगर खेलकुद विकास समितिका महासचिव राजु गुरुङको संचालनमा भएको हो ।


