रामपुरमा चलेको रामपुर महोत्सव तथा व्यापार मेला सकियो, मेलामा लाखौं दर्शक करोडौंको व्यापार
पाल्पा ।
पाल्पाको रामपुरमा ११ दिनसम्म चलेको रामपुर महोत्सव तथा व्यापार मेला सकिएको छ । महोत्सव समापनका क्रममा बोल्दै प्रतिनिधि सभा सदस्य तथा उद्योगपति विनोद चौधरीले राजनितिलाई विकास सँग र विकासलाई उद्यम र व्यवसायिक सँग र यी दुबैलार्ई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताउनुभएको छ ।
उद्योग वाणिज्य महासंघ र संघले उद्योगी व्यवसायीलाई उत्साही बनाउने कार्यमा सदैव लाग्नुपर्ने बताउदै आर्थिक समृद्धि बिना विकास सम्भव नभएको बताउनुभयोे । २०४६ सालमा उद्योग वाणिज्य महासंघको सबैभन्दा कान्छो अध्यक्ष भएर नेतृत्व गर्दा २७ जिल्लामा संघ रहेको स्मरण गर्दै पाल्पाको रामपुरमा चलेको रामपुर महोत्सव समापनमा आउनुभएका उद्योगपति चौधरीले रामपुर क्षेत्र संभावना भएको उपत्यका रहेकोले यहाँको औधोगिक विकास र पर्यटकीय क्षेत्रमा काम गर्न उत्साही हुनुपर्ने बताउनुभयो । संभावना छ भने त्यसमा काम गर्नुपर्छ , सोचले संकल्प, संकल्पले इमान्दार भयौ भने स्रोत साधन दिन्छ, संघले उद्यमी, व्यवसायी र उपभोत्तासँग जोड्ने काम गर्ने बताउदै उहाँले सबैको सपना विकास र आर्थिक समृद्धि भएकोले सपनालाई जोड्ने टेक्नोलोजी छ, छिमेकी ५ जिल्लाले रामपुरलाई जोड्ने र रामपुरले केन्द्रलाई जोड्न के गर्नुपर्छ? त्यसमा संघ लाग्नेमा विश्वस्त रहेको उहाँको भनाई थियो । छिमेकी जिल्लाका जनताको मतले बिजयी भएर संसदमा गएको बताउदै चौधरीले पाल्पा सहित स्याङजा तनहुँका नागरिकको पनि मत आफुले पाएको स्मरण गर्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका नेता चौधरीले अबको आर्थिक क्रान्तिको जिम्मेवारी लिएर नेपाली काग्रेंस अघि बढ्नु पर्ने बताउनुभयो । युवा पुस्ता राजनितिमा आइसकेको बताउदै युवालाई उद्यम, आर्थिक उपार्जनमा जोड्न र व्यवसाय चलायमान गराउन यस्ता संघ महोत्सव र अभियान सार्थक हुने उहाँको भनाई थियो ।
लुम्बिनी प्रदेश सभा सदस्य तथा रामपुर उद्योग वाणिज्य संघका सल्लाहकार राजु प्रसाद श्रेष्ठले कालीगण्डकी उपत्यकाको विकासमा सहकार्य आबश्यक रहेको बताउनुभयो । सबै मिलेर विकासलाई अघि बढाउनुपर्छ उहाँले भन्नुभयो–भवन निर्माणको लागि लुम्बिनी प्रदेश सरकार मार्फत पहल गर्नेछु । रामपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सवले रामपुरलाई थप चिनाउन र व्यवसायलाई चलायमान बनाउन सफल भएको बताउनुभयो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले रामपुर नगरपालिकाले घरेलु तथा साना उद्योग स्थापना र व्यवसाय प्रवद्र्धनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको बताउनुभयो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण रामपुर संगै कालीगण्डकी उपत्यकाको विकासको लागि तिनै तहका सरकार संग समन्वय गरेर अघि बढ्नु पर्ने बताउनुभयो ।
अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता सन्दिप रानाले कालीगण्डकी करिडोर निर्माण संगै गण्डकी बेशी क्षेत्रको विकासको ढोका खुलेको बताउनुभयो । उहाँले युवा उद्यम र उत्पादनलाई वृद्धि गर्दै निर्यातलाई प्रवद्र्धन गर्ने तर्फ केन्द्रित हुनु पर्ने समय आएको बताउनुभयो ।
रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले संघको माननीय बिनोद चौधरीलाई संघले गरेको कार्य, आगामी योजना र भवन निर्माणलाई लिइएको प्राथमिकताका बारेमा जानकारी दिनुभयो । मेला भव्य र सभ्य रुपमा सम्पन्न भएको बताउदै संघले लिएको लक्ष्यभन्दा बढी उपलब्धी हासिल गर्न सफल भएको र सफल गर्न योगदान दिने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष ढकालको अध्यक्षतामा भएको समापन समारोहमा संघका वाणिज्य उपाध्यक्ष विष्णु सारुले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन संघका महासचिव खिम बहादुर क्षेत्री (पुरुषोत्तम)ले गर्नु भएको थियो ।

मेलाको अन्तिम दिन सोमबार पनि मेला स्थलमा झण्डै १५ हजार बढी दर्शकले भरिभराउ थियो । गएको माघ २७ देखि रामपुरमा सुरु भएको तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा अन्तिमका केही दिन किनमेल गर्ने तथा रम्न पुगेकाहरुको संख्या बढी थियो । ३०० स्टल, बालउद्यान,२२ होेटेल होटल तथा रेष्टुरेण्ट, व्यापारिक स्टल, फोटो प्रदर्शनी सांस्कृतिक कार्यक्रम, भलिवल प्रतियोगिता, नृत्य प्रतियोगिता र लोकदोहोरी प्रतियोगिता मेलाका मुख्य आकर्षण थियो ।
मेलाको अन्तिम दिन पाल्पाली लोक तथा दोहोरी गायक पुष्कल शर्मा, माधव भण्डारी र तनहुँकी गायिका सिर्जना आलेको प्रस्तुतिमा दर्शकहरु झुमेका थिए । गायक शर्माको प्रस्तुतिमा दर्शकहरुको हुटिङ्ग गर्दै नाचेका थिए । मेलामा वान्समोर पाएका पुस्कलले पुनः गीत गाए भने अधेर हुदै जादा पुनः वान्स मोर भनेपनि प्रहरीले युवाहरुलाई संयमित बनाएको थियो । मेला अवलोकनका लागि गण्डकी वेशीका पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुर, नवलपरासी, रुपन्देही, लगाएत विभिन्न जिल्ला बाट दर्शकहरु आएका थिए । रामतुलसी नमुना माविको खेल मैदानमा भएको मेला रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा सञ्चालन भएको थियो ।

संघको बहुउद्देश्य भवन निर्माण, कोरोना महामारीले धरासायी बनेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन, कालीगण्डकी बेशी क्षेत्र पहिचान संगै पर्यटन प्रवद्र्धन, कृषक तथा उद्योगी व्यवसायीहरु प्रोत्साहन गर्नको लागि मेलाको आयोजना गरिएको हो ।