रामपुर महोत्सवमा आयोजित लोकदोहोरीमा प्रथम बन्यो रुपन्देही
पाल्पा ।
पाल्पाको रामपुरमा चलिरहेको तेस्रो रामपुर महोत्सब तथा व्यापार मेलामा आयोजित खुला लोकदोहोरी प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीले प्रथम स्थान हासिल गरेको छ । आइतबार भएको लोकदोहोरी गीतको फाइनल घम्साघम्सीमा लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीको टिमलाई पछि पार्दै प्रतिष्ठान रुपन्देहीको टिम प्रथम भएको हो ।
लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीका महिला कलाकार आरती रुचाल र पुरुष कलाकार दिवाकर पराजुलीको टिमले गरि कुल ६५७ अङ्क र लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीका महिला कलाकार कोपिला न्यौपाने र पुरुष कलाकार भुवन अधिकारीले ६५५.५ अङ्क ल्याएर द्दितिय हुनुभएको हो ।
दिइएको बिषयबस्तु भित्र १५ टुक्कामा प्रतिस्पर्धा गरेका दोहोरी कलाकारको फाइनलमा १.५ अङ्कले रुपन्देहीको टिमले रामपुर महोत्सवको लोकदोहोरी गीतको प्रथम पुरस्कार प्राप्त गरेको हो । बिजयी घोषणा संगै प्रथम हुने टोलीले नगद ४१ हजार र द्दितिय हुनेले २५ हजार साथमा प्रमाणपत्र र मायाको चिनो प्राप्त गरेका छन् ।
फागुन २ गतेदेखि शुरु भएको दोहोरी गीत प्रतियोगितामा ८ समुहले भाग लिएका थिए । दोहोरीगीत प्रतियोगिताका निर्णायक तथा लोक दोहोरी गीतका यस भेगका बादशाह नारायण खनाल लेकालीले गण्डकीबेशीमा लोक दोहोरीको माग सदैब हुने बताउदै महोत्सवमा आयोजित प्रतियोगिताले लोकदोहोरीको जगेर्नामा थप हौसला दिएको बताउनुभयो ।
लोक तथा दोहोरी गीतको खानी पच्चिम नेपालका यस भेगमा दोहोरी गीतलाई धेरै रुचाइने क्षेत्र हो । पाल्पाको रामपुरमा २०६४ सालको महोत्सवमा समेत दोहोरी गीत प्रतियोगीता भएको थियो ।
रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षकत्वमा माघ २७ देखि जारी महोत्सव फागुन ८ गते सोमबार सकिदैछ । महोत्सवमा लोकदोहोरी प्रतियोगिता संगै नृत्य प्रतियोगिता, अन्तर जिल्ला भलिबल प्रतियोगिता समेत भएको थियो ।