द्वन्दकालिन लडाकु क्षितिज मगरको कथासङ्ग्रह ‘भेडीकम्बलको प्वाल’ सार्वजनिक
काठमाडौं ।
साहित्यकार क्षितिज मगरको कथासङ्ग्रह ‘भेडीकम्बलको प्वाल’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंको अनामनगरस्थित निम्तो रेस्टुरामा साहित्यकारहरूको टोलीले क्षितिजको चौथो कृति सार्वजनिक गर्नुभयो।
जनयुद्धका समयमा बन्दुक चलाउने क्षितिजको यो चौथो कृति हो । साहित्यकार एवम् पत्रकार नवीन विभासले बिमोचनमा जलजलाको कथा सुनाउँदै जनयुद्धको सुरुवाती चरणको वृत्तान्त सुनाएका थिए । विभासले कथाकार क्षितिजको जन्मको कथा झिक्दै हाम्रो गाउँको काँचुली फेर्नुपर्छ भन्थ्यो ऊ । धेरै लडे आँधीमा । ऊ सदस्य हुँदै कमान्डर हुँदै गयो । सहयोद्धाहरू गुमायो । खुसी गुमाएका पीडाहरू अक्षरमा पोखिन थाले । आँधीको समयमा त्यो बड्डो कवि पनि भएछ । गीतकार पनि भएछ । बड्डो पछि १२ बुँदेमा ब्रेक लागेछ । त्यही बड्डो क्षितिज मगर यसो भन्दै गर्दा झस्किए ।’
भेडीकम्बलको प्वालमा सिँगो जेलबाङको कथा छ । कथाहरू मगर संस्कृति संगै घुलेका छन् ।यहाँ जेलबाङको भाषा छ । सिङ्गै जेलबाङ बोकेको छ । सबै पात्र त्यतैका छन् । मगर संस्कृति मजाले भरिएर आएको छ,’ सहभागीले भने- ‘क्षितिज मगरका कथा मान्छेका कथा हुन् ।’
लेखक यही अवस्थाबाट एकाएक रसातलमा पुगेको प्रसङ्ग भावेशले निकाल्दा क्षितित पटकपटक भावुक बनेका थिए । ‘पछि जीवन एकदम परिवर्तन भयो । श्रीमती छोराछोरी पाल्नैपर्यो । मलाई फोन गरेर भन्नुभयो, मेरो बुबा भीरबाट लडेर बित्नुभयो । म पनि रोएँ । त्यसपछि ज्यामी काम गर्नुभयो । बडीगार्ड बोकेर हिँडेको ब्यक्ति रसातलमा पुग्नुभयो तर अहिले उहाँ सफल कथाकार बन्नुभएको छ,’ भावेशले व्यक्त गरे ।
‘जनयुद्धअघिका कथाहरू माओवादीलाई सपोर्ट गरेको कथा हो कि जस्तो लाग्छ । पछिका कथामा माओवादीभित्रका षड्यन्त्र समावेश गरिएको छ । कथा पढ्न रोक्नै मन लाग्दैन । त्यहाँभित्र प्रेमका कुरा छन् । पात्र रोल्पाकै छ । परिवेश त्यतैका । शाही सेनाबाट प्रताडित भएपछि माओवादीमा लागेको कथाहरू छन् । ओहो ! म पनि त्यसकै पात्र हो कि जस्तो लाग्छ,’।
यस कथासङ्ग्रहका भाषासम्पादकसमेत रहेका साहित्यकार प्रमोद प्रधानले किताबमा १८ कथा रहेको उल्लेख गर्दै कथाहरू सशक्त रहेको बताउनुभयो । ‘कथाहरूमा पात्र सामान्य हुन्छन् । सबै पात्र जिउँदा हुँदैनन् । कथालाई सशक्त बनाउन पात्रलाई जिउँदो बनाउन क्यारेक्टर बलियो बनाउनुपर्छ । भेडीकम्बलको प्वालमा १८ कथा छन् । कथा बनोटका आधारमा सबै सशक्त छन् । यसमा भएको विषयवस्तु माओवादी जनयुद्धकै हो,’ प्रधानले ‘कतै न कतै यसको चर्चा छ नै । जनयुद्धमा लेखिएको तारा राईको किताब ११ औं संस्करणसम्म गयो । कथाकै रूपमा त यो भेडीकम्बलको प्वाल सशक्त लाग्छ ।’
जनयुद्धमा वैचारिक स्खलनका कुराहरू भएपनि कथामा प्रहरीका मनोविज्ञानका कथाहरू पनि आएकोमा आफूलाई खुसी लागेको उनको भनाइ छ । ‘सामाजिक कुरा छन् । राजनीतिक कुरा छन् । वैचारिक स्खलनका विषयहरू पनि छन् । यसमा जनयुद्धका आफ्ना कथाहरू मात्र छैनन् । प्रहरीका कथा पनि छन् । प्रहरीका मनोविज्ञानका कथाहरू पनि छन् । प्रहरीले जनयुद्धमा कसरी मार्यो । अवकाशपछि उसलाई कसरी पोल्यो भन्ने कुरा सशक्त रुपमा चित्रण गरिएको छ,’ प्रधानले थपेका छन् ।
लेखक क्षितिज मगरले पुस्तक बिमोचनमा आफूले बन्दुक बोकेकोमा कुनै पछुतो नभएको तर्क राखे । युद्धलाई अहिले पनि दुई तरिकाले विद्रुपीकरण गरिएको र ती अमान्य हुने उनको भनाइ थियो । ‘युद्धलाई दुई तरिकाले विद्रुपीकरण गरियो । एउटा अति सकारात्मक । अर्को अति नकारात्मक,’ लेखक मगरले ‘सत्ता बन्दुक हो । बिनाबन्दुक सत्ता चल्दैन । हैन भने राज्यले बन्दुक फालेर राज्य चलाओस् ।’
आफू बन्दुक बिसाएपछि अहिले कमलसँगै गैँतीबेल्चासमेत चलाउने गरेको उनको भनाइ छ । ‘युद्ध त समाप्त भयो तर यसका अवशेष बाँकी रहन्छन् । यो अझै रहने छ । समाजशास्त्रीहरूले भनेको कुरा हो यो । यो चैँ शिलालेख होस् भनेर लेखेको हुँ,’ क्षितिज भन्छन्, ‘वैचारिक स्खलनका कुरा आयो । यो पनि राखेको छु । म मजदुरी गर्ने मान्छे हुँ । अहिले गैँतीबेल्चा पनि चलाउँछु । कलम पनि चलाउँछु ।’
प्रमुख अतिथि रहेका प्राध्यापक केशव सुवेदीले कथाहरू कवितात्मक भएको बताएका छन् । ‘किताबमा कथाभन्दा धेरै कविता छन् । कवितात्मक छन् । गहिरो संवेदनाबिना यस्तो रचना हुँदैन,’ सुवेदीले भने, ‘रोल्पा बुझ्न, रोल्पाको समाज बुझ्न पनि यो पढ्नुपर्छ ।’
जनयुद्ध विद्रुपीकरण भएको भन्ने भनाइमा भने उनलाई पटक्कै चित्त बुझेनछ । राजनीतिलाई सरापेर कहीँ नपुगिने तर्कसमेत उनले प्रस्तुत ग रे। ‘विद्रुपीकरण छै न। धेरै उपलब्धि पनि भएका छन् । समग्र युद्धलाई श्रापित गर्ने काममा म सन्तुष्ट छैन,’ प्राध्यापक सुवेदीले थपे, ‘चेकको मात्र मूल्य हैन । हरेक दिन राजनीतिलाई सरापेर कहाँ पुगिन्छ ? सरापेर कही पुगिँदैन । बन्दुकको चर्चा पनि शक्तिको सञ्चय हो ।’
लेखन आफैँ पनि शक्तिको सञ्चय भएको दाबी सुवेदीको रह्यो । ‘मान्छे आफैँ शक्ति सञ्चय गर्न चाहन्छ । शक्तिका लागि निरन्तर प्रयत्न गरिन्छ । तपाईँको कलम हिजोको कलम बनेर सशक्त बनोस्,’ उनले भने । युद्धकालमा आफू रोल्पामै भएको भए कि त शपथग्रहणतिर कि त चिहानतिर हुनेसमेत उनको भनाइ थियो। ‘रोल्पामा बसेको भए म कि चिहानको मुन्तिर हुन्थेँ, कि त म दौरासुरुवाल लगाएर शपथग्रहणको कुनै कार्यक्रममा हुन्थेँ किनकि त्यही ठाउँमा जहाँ युद्धको सुरु भएको थियो,’ सुवेदीले भनेका छन् ।
प्रकाशन सांस्था विवेक सिर्जनशीलका विजयराज आचार्यले कम्युनिस्ट लेखन कम भइरहेको बेला यो साहित्य बजारमा आएको बताए । ‘कम्युनिस्ट लेखन कम भइरहेको बेला यो विमोचन कर्म भयो । विमोचनमा उपस्थिति हुँदैन भन्ने डर थियो तर व्यापक उपस्थिति रह्यो । हामीले कम्युनिस्ट साहित्यबाटै प्रकाशन सुरु गरेका थियौँ,’ आचार्यले भने । रोल्पाको जेलबाङका क्षितिजले १७ वर्ष जनमुक्ति सेनामा बिताएका थिए । कविता लेखनबाट साहित्यमा यात्रा थालनी गरेका क्षितिजका यसअघि आस्थाका पर्खालहरू (कवितासङ्ग्रह), सुनछहरीको ऐनामा (कथासङ्ग्रह), गण्डक अभियान (डायरी) प्रकाशित छन् ।
क्षितिज इमानदार भएकै कारण चौथो कृति आएको तर नेतृत्व तहका मान्छेहरूले भने नयाँ नयाँ धुनको चाहमा योद्धाहरूलाई बिर्सन थालेको आचार्यको भनाइ रह्यो । ‘इमानदार मान्छे मादल जस्तै भएका छन् । इमानदार योद्धाको अवस्था यस्तै छ । नेताहरू अहिले नयाँ नयाँ धुनहरू खोजेर मस्ती गर्न थालेका छन् । स्रष्टाहरूलाई जोगाउन लागेका छैनन् । स्वार्थअनुसार गला मिलाउन तम्तयार देखिन्छन् नेताहरू आचार्यले पोखे ।
१९२ पृष्ठको कथासङ्ग्रहको मुल्य प्रकाशन संस्थाले ४५० रुपैयाँ तोकेको छ ।