नवलपरासीमा बस र कार ठोक्किदा कार चालकको ज्यान गयो
नवलपरासी ।
नवलपरासीको भुमही- परासी सडकखण्डमा बस र कार एक आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् ।
दुर्घटनामा कार चालक अर्घाखाँची घर भई हाल कपिलवस्तु वाणगंगा न.पा. ८ मधुवन बस्ने अन्दाजी ३६ बर्षका ईन्द्रमणी पौडेलको ज्यान गएको छ । साढे १ बजेतिर भएको घटनामा घाइते पौडेललाई अस्पताल परासी ल्याएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो ।
कारमा सवार अन्य ५ जना घाइते भएका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उनीहरुको उपचार भईरहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा कपिलवस्तु वाणगंगा न.पा. ८ मधुवनका ३१ बर्षका पुर्ण बहादुर राना, सोही ठाँउका बर्ष २८ का मनोज कुमार परियार, नवलपरासी (पुर्व) बुलिङटार गाउँपालिकाका बर्ष २८ का गंगा गोदामी, नवलपरासी (पुर्व) कावासोती देउरालीका बर्ष १८ का डल बहादुर बराल र अर्घाखाँची सितगंगा हाल रुपन्देही सालझण्डी बस्ने खेम बहादुर रेश्मी मगर रहेका छन् । बसमा सवार यात्रु सकुशल रहेका छन् ।
भुमही- परासी सडकखण्डमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको लु २ ख १२२६ नं. को बस र विपरित दिशाबाट जादै गरेको बागमती प्रदेश ०१-०२५ च ३८९७ नं. को कार एक आपसमा ठक्कर खाएको थियो । बस चालक फरार छन् । उनको खोजी कार्य भइरहेको र घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयो ।