निस्दीको सबै वडामा बाल भेला सम्पन्न
पाल्पा ।
निस्दी गाउँपालिकाले पालिकाको सबै वडामा बाल भेला सम्पन्न गरेको छ । “बालमैत्री समाजको आधार,जिम्मेवार परिवार,उत्तरदायी सरकार” भन्ने नाराका साथ बाल भेला अभियान सञ्चालन गरेकोमा निस्दीको सात वटै वडामा वडा स्तरीय बाल मञ्च गठन समेत गरेको छ ।
यसैबीच मित्यालमा बिहीबार बसेको भेलाले यमुकला खाम्चाको अध्यक्षतामा ११ सदस्यीय बाल मञ्च गठन गरेको छ । जसको उपाध्यक्षमा केशर सुनारी, सचिवमा मनिषा जर्घा, सहसचिवमा अमृत खाम्चा र कोषाध्यक्षमा रोशन सोमैलाई चयन गरेको छ । सदस्यहरुमा रजिना परियार, पुष्पा सोमै, वेल कुमारी सारु, कमल सोमै, निविन्द्र सुनारी र राजकुमार परियार रहेका छन् । बालबालिकाको भेलाले नवगठित बाल मञ्चको नाम मित्याल बाल उत्थान मञ्च रहेको छ ।
वडा अध्यक्ष सन्तवीर सुनारीको अध्यक्षतामा भेला बसेको थियो । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बालबालिकाको भविष्यको जग नै बाल मञ्च रहेकोले आफ्नो लक्ष्यमा पुग्नको लागि आजैदेखि एकआपसमा हातेमालो गरेर अगाडि बढ्न अनुरोध गर्नुभयो । अध्यक्ष सारुले बालबालिकालाई पालिकाको सधैं साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।
गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले बाल अधिकार प्राप्त गर्नको लागि आफ्नो कर्तव्य भुल्न नहुने बताउनुभयो । स्वास्थ्य शाखा प्रमुख रेम बहादुर दिशाले बालविवाह अन्त्यका लागि स्वयं बालबालिका नै सचेत हुनुपर्ने बताउनुभयो । गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक केश बहादुर सुनारीले अनुशासन बालबालिकाको गहना रहेको बताउनुहुँदै पढाइको अलावा सर्वाङ्गीण विकासमा ध्यान दिन अनुरोध गर्नुभयो ।
बाल कल्याण अधिकारी कुश्माखर पाण्डेले पालिकाका सबै वडामा समिति गठन गरिएको र अब तत्कालै पालिका स्तरीय बाल मञ्च गठन गरिने बताउनुभएको छ ।
निस्दीलाई आगामी ३ वर्षभित्र वालमैत्री स्थानीय शासन लागु भएको गाउँपालिका घोषणा गरिदैछ । यही लक्ष्यका साथ अभियान तिब्र पारिएको हो ।