पाल्पाको खुसार्नेमा बस दुर्घटनामा ६ जनाको मृत्यु, १८ घाईते
पाल्पा ।
पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ८ खुसार्नेमा बस दुर्घटनमा ६ जनाको ज्यान गएको छ ।
रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने तर्फ आउदै गरेको यात्रुबहाक बस खुसार्ने पुग्नै लाग्दा राति झण्डै साढे ९ बजे मधुवन टारीफाँट नजिकै राधादीगैरामा दुर्घटना भएको हो । ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुसार्ने गाउँका ६ महिलाको ज्यान गएको हो । दुर्घटनामा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री र गुनी गाहाको ज्यान गएको वडा नं. ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिनुभयो। मृतक मध्ये एकजनाको भने परिचय खुल्न सकेको छैन ।
मृतकमध्ये तीन जनाको शव बाहिर निकालिएको छ भने ३ जना बसले च्यापेको अवस्थामा छन् । बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको हो ।
पाल्पा र रुपन्देहीका प्रहरी तथा स्थानीयले उद्धारको कार्य बिहानसम्म जारी राखेको प्रहरी चौकी जुठापौवाका बरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिनुभयो । दुर्घटनामा घाईते भएका अन्य १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । घटनास्थल सालझण्डी -ढाेरपाटन सडकखण्ड अन्तरगत रुपन्देहीको सालझण्डीदेखि करिब १० किलोमिटरको दुरीमा पर्दछ ।