सीताकुण्ड दुग्ध सहकारीको दशौँ वार्षिक साधारण सभा सकियो
पाल्पा ।
सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था रामपुर पाल्पाको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष कृष्णकुमार अर्यालको अध्यक्षतामा भएको साधारण सभाको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले उद्घाटन गर्नुभयो । नगर प्रमुख थापाले रामपुर नगरले व्यावसायिक उत्पादन गर्ने किसानलाई प्रोत्साहनमुलक कार्यक्रम गरिरहेको हुदा मापदण्ड अनुसार प्रक्रिया पूरा गरेर नगरको कार्यक्रममा सहभागी बन्न अनुरोध गर्नुभएको छ । दुध उत्पादनको आधारमा अनुदान कार्यक्रम नगर सरकारले दुईवर्ष अघि दिने निर्णय गरेपनि अहिलेसम्म विधि र पद्धति अनुसार कुनै पनि किसान, सहकारी तथा समुह नआएको नगर प्रमुख थापाले बताउनुभएको छ ।

दुग्ध उत्पादक सहकारीले यहाँ उत्पादन गरेको दूध ग्यारेन्टी लिएर बजारको प्रबन्ध गर्नुपर्ने र त्यसको लागि नगरले सहयोग गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भुपती पाण्डेय, पशु सेवा कार्यालय रामपुरका प्रमुख तुल्सीराम काफ्ले, सहकारी संघ जिल्ला सदस्य ईश्वरी खनाल, अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटा, संस्थाका सल्लाहकार कमलराज भट्टराई, पशुधन सुरक्षण समिति सल्लाहकार मोहन भट्टराई लगायतले बोल्दै दुग्ध उत्पादन र बिक्रि बारे धारणा राखेका थिए ।
साधारण सभाको अवसरमा उत्कृष्ट पशुपालक कृषक सिर्जना पौडेल, उत्प्रेरक लेखनाथ शर्मा मरासिनी, असल ऋणी डोलराज न्यौपाने, उत्कृष्ट नियमित वचतकर्ता राधिका भण्डारी र मोतीराज मरासिनीलाई सम्मान गरिएको छ ।
पशुधन सुरक्षण समितिका संयोजक नगिलाल पौडेलले पशु बिमाको वार्षिक प्रतिवेदन सार्वजनिक गर्नुभएको छ । संस्थाका व्यवस्थापक भविनारायण मरासिनीले ५५ लाख ६६ हजार १२९ रुपैयाँ बराबरको पशुबिमाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ भने अध्यक्ष अर्यालले अध्यक्षको वार्षिक प्रतिवेदन साधारण सभाको अवसरमा पढेर सुनाउनुभएको छ ।
तीन करोड आठ लाख २० हजार १६८ रुपैयाँ ५३ पैसा बराबरको सहकारीको कुल आय रहेको छ भने सेयर पुँजी १६ लाख ५७ हजार १ सय, बचततर्फ ५५ लाख ९८ हजार १९० रुपैयाँ ६५ पैसा रहेको छ । यस आर्थिक वर्षको हालसम्म ५० लाख ३ हजार २ सय ६५ लगानी भएको सहकारीले जनाएको छ ।
सहकारीका उपाध्यक्ष दुर्गादेवी आचार्यको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सचिव विनोद कुमार श्रेष्ठले गर्नुभएको हो । साधारण सभाको बन्द सत्रमा लेखा सुपरिवेक्षण समितिका संयोजक एकराज अर्यालले लेखा परिक्षणको प्रतिवेदन पेश गर्नुभएको छ । पशुपालक कृषकलाई प्रोत्साहन गर्दै व्यावसायीक रुपमा पशुपालन गर्न विसं २०६९ असोज १८ गते स्थापना भई निरन्तर रुपमा अगाडी बढेको यस सहकारीमा हाल ४०९ सेयर सदस्य आबद्ध छन् ।
साधारण सभाको अवसरमा अतिथि सहभागी पाहुनालाई खाजाको रुपमा खिर खुवाइएको छ । सहकारीले स्थानीय उत्पादन र दुग्ध परिकारलार्ई प्राथमिकता दिदै साधारण सभाको दिन हरेक वर्ष खिर खुवाउने गरिरहेको छ ।