तालपोखरा संरक्षण समितिको अध्यक्षमा भरतराज देवकोटा
पाल्पा ।
पाल्पाको पर्यटकीय स्थल तालपोखरा संरक्षण समितिको चौथो अधिबेसनले भरतराज देवकोटाको अध्यक्षतामा सर्बसहमतिमा नेतृत्व चयन गरेको छ ।
देशका १०० गन्तव्यमा पर्न सफल जिल्लाको पर्यटकीय स्थल तालपोखरा पार्कमा भएको अधिबेसनले देवकोटाको अध्यक्षतामा सर्वसहमतिमा १५ सदस्यीय समिति चयन गरेको हो । देवकोटा यस अघि तालपोखराको पुर्व अध्यक्ष भएर काम गरिसक्नुभएको छ ।
समितिको उपाध्यक्षमा मित्रा ढकाल, सचिवमा शिब देवकोटा, कोषाध्यक्षमा लक्ष्मी ढकाल र सदस्यहरुमा सुदन प्रकाश रेग्मी, कृष्ण कुमार अर्याल, जनक भण्डारी, डेमा देवकोटा, हुमादेवी देवकोटा, घनश्याम ढुङगाना, सन्तोष पौडेल, सिता भण्डारी, शिबराम कडेंल, गंगा परियार र सन्तोष देवकोटा सर्बसहमतिमा छनौट हुनुभएको छ ।
लेखा सुपरीबेक्षण समितिको संयोजकमा सुनिल प्रसाद देवकोटा, सदस्यमा गुरु प्रसाद पराजुली र भोजराज भण्डारी रहनुभएको छ । समितिको कार्यकाल ३ बर्षको रहनेछ ।
पहिले गाईबस्तु चराउने र भैसी आहाल खेलाउने रहका रुपमा रहेको क्षेत्रलाई स्थानीयले आफ्नै सक्रियतामा २०६६ साल पौष ११ देखि १८ गतेसम्म श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञको आयोजना गरि पर्यटन प्रर्बद्धनको रुपमा तालपोखराको विकासमा काम गरेका हुन् । तत्कालिन समयमा १ करोड ७२ लाख महायज्ञबाट संकलित भएपछि यसले काममा गति लिएको थियो ।
पोखराको फेवाताल (मिनी फेवाताल) को झल्को दिने यस तालपोखरामा पछिल्लो समय आन्तरिक पर्यटकको संख्या बढेको छ । झण्डै ४५ रोपनी क्षेत्रफलमा फैलिएको तालमा ठुलो सानो प्लाष्टिक र काठको गरि ४ वटा डुङा चलाइएको छ । जहाँ डुङा शयर गरि ताल बिचमा रहेको मन्दिरमा दर्शन गर्ने र फर्कने गर्दछन् । यहाँ २०७४ साल माघदेखि नियमित डुङा चलाईएको छ । तालको बिचमा जलेश्वर महादेवको मन्दिर छ भने वारि भगवान् शिबको मुर्ति प्रतिस्थापन गरिएको छ ।
ताल सँगै यहाँको पार्क पनि हेर्नका लागि मनमोहक छ । पार्कमा शिबको मुर्ति सहित रंगीचंगी फुलले पार्क ढकिढकाउ हुन्छ भने पार्क नजिकै बनभोज स्थल समेत रहेको छ । ताल र पार्क गरी तालपोखरा झण्डै ७५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
तालपोखरामा दशै तिहार र विदा भएका बखत सयौं जनाको भिडभाड लाग्ने गर्दछ भने समितिले प्रत्येक बर्ष शिबरात्री मेलाको आयोजना गर्दछ साथै पछिल्लो समय यहाँ आकर्षणको रुपमा डुङा दौड प्रतियोगिता समेत हुदै आएको छ । यस क्षेत्रमा बिभिन्न संरचना निर्माणमा हालसम्म झण्डै ३ करोड बढीको लागत लागेको समितिले जनाएको छ ।