नारायणघाटमा माघ १२ देखि एकमहिने कोटिहोम महायज्ञ हुने
चितवन ।
सनातन संस्कृति संरक्षण अभियान र गण्डकी नारायणी संरक्षण महाआरती परिषद्को आयोजनामा सम्पूर्ण सनातनीहरूलाई संगठित गरी धर्म र राष्ट्रियता संरक्षण गर्ने गराउने उद्देश्यले नारायणी नदी किनार नारायणघाट चितवनमा “गायत्री कोटिहोम ज्ञानमहायज्ञ २०७९” हुने भएको छ।
यही वसन्त पञ्चमीदेखि फागुन १२ गतेसम्म १ महिना सम्म विराट् श्री गायत्री कोटिहोम ज्ञानमहायज्ञ २०७९ हुने भएको हो । ब्रह्मलीन स्वामी परमानन्द सरस्वती महाराज एवम् राष्ट्रयोगी नरहरिनाथ लगायतका गुरुहरूको अनुशरण गरी आयोजना गरिएको सो महायज्ञ नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती महाराजको प्रमुख संरक्षकत्व तथा महामण्डलेश्वर आत्मानन्द गिरि, रमणानन्द गिरि, स्वामी जगन्नाथाचार्य,हरिशरण उपाध्याय, किशोरकुमार गौतम आदि नेपालका प्रमुख सन्तमहात्माहरूको संरक्षकत्वमा हुने आयोजकले जनाएको छ ।
महायज्ञमा १०८ कर्मनिष्ठ ब्राह्मणहरूद्वारा सवा करोड गायत्री मन्त्रद्वारा १ महिनासम्म हवन, तर्पण एवम् मार्जन, श्रीमद्भागवत तथा शिवमहापुराण पाठ एवम् प्रवचन, विभिन्न सनातन धर्ममूलक पन्थ,सम्प्रदायका विशिष्ट विद्वान्, सन्त, मठाधीश, गुरु, सामाजिक, राजनैतिक, व्यक्तिहरूद्वारा सनातन संस्कृति- गोवंश संरक्षणबारे चिन्तन सहित प्रवचन, सवा करोड ५ सरे दीपप्रज्वलन, राष्ट्रिय/अन्ताराष्ट्रिय ख्यातिप्राप्त कवि/ कलाकारद्वारा कवितावाचन, भजन,सांस्कृतिक झाँकी, वरिष्ठ चिकित्सकद्दारा नि:शुल्क स्वास्थ्य परीक्षण, रक्तदान कार्यक्रम, योग, ध्यान एवम् बालसंस्कार कार्यक्रम, १०८ शालग्राम तथा शिवलिङ्गको सेवा-पूजा, दर्शन सामूहिक व्रतबन्ध, चौरासी, ग्रहशान्ति आदि हुने पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।विपन्न तथा अशक्तहरूका लागि नि: शुल्क सामूहिक व्रतबन्ध , चौरासी, ग्रहशान्ति कार्यक्रम गरिदिने आयोजकले तयारी गरेको छ । कार्यक्रम सफल पार्न पूजासामग्री, भोजन तथा प्रसादका सामग्री, हवनसामग्री, सवा करोड दीपदानका लागि ५ सरे बत्ती तथा तेल सहयोग गर्न आयोजकले अनुरोध गरेको छ।
एक ब्राह्मणलाई लाग्ने खर्चको निर्धारण गरी कर्ता बन्न सकिने र ५५००।- भन्दा माथि सहयोग गर्ने दाताको नाम तथा सामग्री संकलन गरेर सहयोग पुर्याउने संघ-संस्थाहरूको नामावली कोटिहोम स्मारिकामा राखिने विभूति परिषद्का अध्यक्ष प्रेमनिधि भारद्वाजले बताउनुभयो।