2

Logo २०८३ बैशाख १३ आइतबार
निस्दीमा बालविवाहको समस्या जिउका तिउ

निस्दीमा बालविवाहको समस्या जिउका तिउ


धन बहादुर ठाडा प्रकाशित मिति : सोमबार, पौस ११ २०७९
1.6K

पाल्पा ।

पाल्पाको निस्दी गाउँपालिकामा बालविवाहमा कमी आउन सकेको छैन । बालविवाह न्यूनीकरणको लागि राज्यले विभिन्न कार्यक्रम र प्रयास गरेपनि जिल्लाको ग्रामीण भेगमा यो अभियानले छुन सकेको छैन ।

नेपालको कानुनले १८ वर्ष मुनिकालाई बालबालिका र विवाह योग्य उमेर २० वर्ष पुरा गरेको हुनुपर्ने तोकेको छ । २० वर्ष भित्र गरिने विवाहलाई राज्यले गैरकानुनी मान्दै आएको छ ।

पाल्पामा मगर समुदायको बाहुल्यता छ । जहाँ जिल्लाका ग्रामीण भेगमा हिजोआज पनि बालविवाह हुने क्रम रोकिएको छैन । विभिन्न वाहानामा बालविवाहमा कमी हुन नसकेको जिल्लाको निस्दी गाउँपालिकाका अगुवाहरु बताउछन् । मोबाइल फोनको गलत प्रयोगले बालविवाह फेसन जस्तै बन्दै गएको छ । पढ्दै गरेका विद्यार्थीहरु बिहेपश्चात् पढाई छोड्ने गरेका छन् । कक्षा ८ देखि १० सम्मका विद्यार्थीको बढी मात्रामा भएपनि ६ कक्षादेखि नै बिहे गर्नेहरु पनि उत्तिकै छन् ।

चालू शैक्षिकसत्रमा गौरीशंकर माध्यमिक विद्यालयमा मात्रै ७ जना विद्यार्थीको विवाह भएको प्रधानाध्यापक केश बहादुर सुनारीले बताए । सामाजिक सञ्जालको गलत प्रयोग मुख्य कारण रहेको सुनारीको भनाई छ । अभिभावकमा जनचेतनाको कमीले आफ्ना सन्तानप्रति पढाइको वास्तै नगर्नाले निस्दीमा बालविवाहको समस्या बढदै गएको लक्ष्मी माध्यमिक विद्यालय झिरुबासका प्रधानाध्यापक पदम बहादुर थापाले बताए । पहिलो पाठशाला घर हो तर घरमा पढने वातावरण नहुँदा कक्षा ६ देखि माथिका विद्यार्थीले बिबाह गरेर बीचैमा पढाइ छोड्ने गरेका छन् उनले भने ।

धेरै जसो आफ्नो घर नसुतेर साथीकोमा सुत्न जाने प्रवृत्तिले बालविवाहको समस्या देखिएको सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक सुशील ढकालले बताए । पढाइ नसकिदै विवाह गर्ने र बिचैमा पढाइ छोड्नेको समस्या विगतदेखि नै रहेको ढकालले बताए । राधाकृष्ण माध्यमिक विद्यालय बाकामलाङका प्रधानाध्यापक भेष बहादुर अधिकारीले बालविवाह हुनुमा मुख्य कारण सामाजिक सञ्जाल र मोबाइल फोनको दुरुपयोग भएको बताए । ‘‘यस्तो समस्या हाम्रो विद्यालयमा पनि छ, उनले भने– समुदायमा सचेतना नआएसम्म यसमा सुधार आउदैन । निस्दीमा यस्तो समस्या प्रत्येक विद्यालयमा भएको देखिन्छ । यहाँको १२ वटा माध्यमिक विद्यालयमा मात्रै नभएर अन्य आधारभूत विद्यालयमा पनि बिबाह गरेर बीचैमा पढाइ छोडने समस्या छ । बिबाह भएपछि छात्रको तुलनामा छात्राले पढाइ छोडने गरेको जनकल्याण आधारभूत विद्यालय मित्यालका प्रधानाध्यापक लोक बहादुर सारुले बताए । हाम्रो समाजमा अभिभावकले बालबालिकाको पढाइमा कम चासो लिएकोले पनि बालविवाह बढदै गएको हो सारुले भने ।

मगर समुदायमा प्रायःरमाइलो चाहिन्छ । भविश्यका बिषयमा गम्भीर हुनुभन्दा रमाइलो र घरजमलाई मगर समुदायले प्राथमिकता दिने निस्दीका मिन बहादुर खाम्चाले बताए । घरमा अभिभावकले सन्तानलाई बिबाह सम्बन्धि ज्ञान दिएको पाइदैन, जसका कारण छोराछोरी आफुले जहिले मन लाग्छ त्यहीले भाग्ने,भगाउने गर्दछन् उनले भने ।

निस्दी पालिकाले भने निस्दीलाई आगामी ३ वर्षभित्र वालमैत्री स्थानीय शासन लागु गर्ने तयारी गरेको छ । जसमा ५१ वटा सुचकमध्ये शून्य बालविवाह पनि पर्दछ । अहिले विद्यालयमा बालविवाह न्यूनीकरण सम्बन्धि अभियान चलेको बाल अधिकार अधिकृत कुश्माखर पाण्डेले जानकारी दिए । निस्दीमा बालविवाह अन्त्यका लागि समस्या र चुनौती दुबै छ उनले भने ।

मगर जातिको बाहुल्यता र कम उमेरमै विवाह गर्ने यहाँको पुरानै चलन हो । अभिभावकहरुमा जनचेतनाको कमीले बालविवाहको समस्या रहेको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताए । निस्दीले बालविवाह अन्त्यका लागि लागेको छ सारुले भने–जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला व्यक्ति बालविवाहको भोजमा सहभागी नहुने निर्णय भएको छ । बालविवाहले दीर्घकालिन असर पर्ने भएकोले यसको अन्त्यका लागि हरेक क्षेत्रबाट सकारात्मक सहयोगको खाँचो रहेको सारुले बताए ।

बालविवाह कानुनी र सामाजिक अपराध हो । त्यसैले बालविवाहको अन्त्यका लागि सबै सचेत हुनुपर्ने प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले बताए । बालविवाह न्यूनीकरणको लागि पालिकाले १२ कक्षा उतिर्ण गरि २० वर्ष पुरा भई विवाह गर्नेलाई विशेष सम्मान गर्ने योजना बनाएको छ । त्यसका लागि पालिकाले बजेट विनियोजन गरेको छ ।

२० वर्ष अगाडि गरिने बिबाहले आर्थिक, सामाजिक, शारिरीक सहितका थुप्रै समस्याहरु देखिन्छ । विवाहकै कारण पढाई छोडनुपर्ने स्थिति हुन्छ । यौन तथा प्रजनन स्वास्थ्यमा असर पर्दछ । विशेषगरी आमा र शिशुको स्वास्थ्य जटिल र मृत्युदर समेत बढन सक्छ । हिंसा, बहुविवाह र सम्बन्ध विच्छेदका घटनालाई प्रश्रय दिन्छ ।

त्यसो त बालविवाह न्यूनीकरणको लागि सरकारले वर्षेनी लाखौं बजेट खर्च गरेको छ । यहाँको स्थानीय सरकारदेखि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले बेलाबेलामा कार्यक्रम गर्दै आएका छन् । तर यसको न्यूनीकरणको लागि प्रत्येकको घर–घरमा पुगेर छोराछोरी सहित अभिभावकलाई सचेत गराउन जरुरी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com