आज क्रिसमस दिवस, क्रिश्चियन धर्मावलम्बीले मनाउदै
काठमाडौं ।
हरेकवर्ष डिसेम्बर २५ तारिखमा येशु ख्रिष्टको जन्मदिनको खुसियालीमा क्रिसमस मनाउने गरिएको छ । आज क्रिसमस दिवस, क्रिश्चियन धर्मावलम्बीले धुमधामका साथ मनाउँदै छन् ।येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । येशुले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी सम्वत् चलाइएको विश्वास गरिन्छ । क्रिसमसमा येशुको शिक्षा एवम् उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।आज भव्यताका साथ इसाई धर्मका अनुयायीहरू सौहार्द्यता तथा खुसीयालीको चाड क्रिसमस मनाउँदै छन् ।
संसारभरि धेरै देशहरूमा एकै दिन अर्थात् आजैको दिन चारैतिर सार्वजनिक बिदा हुने गर्दछ । विभिन्न प्राचीन युरोपियन दस्ताबेजका अनुसार क्राईस धर्तीमा आउनपूर्व नै पनि हिउँदको यो मध्य समयमा आगो र प्रकाशको चाड मनाइने कुरा उल्लेख छ । समयसँगै आजको दिनलाई क्रिसमसका रूपमा मनाउन थालिएको हो । इस्वी संवत्का अनुसार हरेक वर्षको डिसेम्बर २५ लाई क्रिसमसका रूपमा मनाइन्छ भने केही देशहरूले डिसेम्बर २४ मा पनि मनाउने गर्दछन् ।
इस्वी सम्वतलाई क्राईसको जन्म अगाडी र एनोनो डोमिनी क्राईस पछाडि गरी दुई भागमा बाँडिएको छ । आज यसै उपलक्ष्यमा संसार भरिनै उपहारहरू साटासाट गरिँदै, क्रिसमस रुख सिँगार्दै, भोज आयोजना गरेर अनि गिर्जा घरहरूमा गएर क्रिसमस मनाइन्छ । नजिकै जङ्गल हुने समुदायमा घरका पुरुषहरू जङ्गल गएर ठुला रुखका मुढाहरू काटेर ल्याउने र आँङ्गनमा बालेर यो पर्व मनाउने गरिन्छ ।
क्रिसमस-ट्री
अङ्ग्रेजी पढ्दा हामी नेपालीहरू सबैले ए फर एप्पल बी फर बल गरी पढेका हौँ, यसै क्रममा X for X-Mass Tree पनि पढेका छौँ । चित्रमा सिँङ्गरिएको सानो धुपी कोजस्तो देखिने च्याट्ट मिलेको यो रुख अर्थात् क्रिसमस-ट्री आजका दिनमा प्राय देखिन्छन् । संयुक्त राज्य अमेरिकामा मात्रै ३ देखि चार करोड यस्ता क्रिसमस रुखहरूको खरिद बिक्री गरिन्छ । आज खरिद गरिन्छ । स्मरण रहोस् यस्ता रुखहरू तयार हुनलाई कम्तीमा पनि १५ वर्ष लाग्दछ । चाडबाडमा परम्परागत रूपमा जनावरहरू मारेर खाने चलन मानव समुदायमा सर्वत्र छ, आज धेरै जनावर र चराहरू, कुखुराहरू खान कालागि काटिन्छन् । हिउँदको मध्य विन्दुमा जनावरहरूलाई चर्न पठाउन गाह्रो हुने र गोठालाहरूले काटेर घाँस या पराल ल्याउन पनि गाह्रो हुने भएकाले यसरी जनावरहरू काटेर सङ्ख्या घटाइने तथ्य पनि विभिन्न पुस्तकमा उल्लेखित पाइन्छ ।
सान्टा क्लस
क्रिसमसको ठुलो आकर्षण भनेको सान्टा क्लस हुन्, रातो टोपी लगाएका अनि सेतो दाह्री, जुँगा भएको मोटोघाटो ठुलो शरीरको साधुले सबैलाई उपहार दिने र खुसी बाँड्नेछन् भन्ने विश्वास छ । सान्टा क्लसको प्रतीक्षामा आज धेरै केटाकेटीहरू राती अबेरसम्म सुत्दैनन् । कोही कोही व्यक्तिहरू सान्टा क्लसको भेषमा उपहार र कोसेली बाँड्दै, साट्दै हिँड्दछन् । नाकको ठाउँमा गाँजर, रातो मफलर र अङ्ग्रेजी ह्याट पहिरिएको हिउँ जम्मा पारेर बनाएको ‘Snow Man’ विदेशका हिमाली क्षेत्रहरूमा अत्यन्त लोकप्रिय छ । त्यस बाहेक हिउँकै चरा बनाउने, हिउँमा खेल्ने अनि नाचगान गर्ने चलन पनि छ ।