“विद्यालयमा एकदिन प्रहरी कार्यक्रम” संचालन तिब्र
पाल्पा ।
इलाका प्रहरी कार्यालय रामपुरले विद्यालयमा सचेतना कार्यक्रमलाई लक्षित गर्दै “विद्यालयमा एकदिन प्रहरी” कार्यक्रम संचालनलाई तिब्रता दिएको छ ।
प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रामपुर नगरपालिकाको सहयोगमा नगरका विभिन्न विद्यालयमा सचेतना कार्यक्रमलाई तिब्रता दिएको जनाएको छ ।
समाजलाई चेतनशील बनाउन विद्यालयमा पढ्ने विद्यार्थीलाई सचेतना दिलाएर उनीहरु, परिवार र गाउँघरसम्म पुर्याउदा समुदायको हित हुने भएकाले पढ्दै सिक्दै गरेका बालबालिकालाई समसामयिक, व्यबहारिक, कानुनी व्यबस्था बारे सचेतना दिइएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिनुभयो ।

प्रहरीले विद्यालयका कक्षा ६ देखि माथिका विद्यार्थीलाई लक्षित गरि आधारभुत सुरक्षा, ट्राफिक नियम, साइबर अपराध, हिंसा, बालविवाह, मानव बेचबिखनको अबस्था, लागुऔषध ओसारपसार र प्रयोग, जुवातास जाडरक्सी सेवन तथा यसले पार्ने व्यक्तिगत तथा पारिवारिक असर, लक्षण र यसबाट जोगिन अपनाउनुपर्ने सतर्कता बारे जानकारी दिनेछ ।
सचेतनालाई नगरका विद्यालयमा प्राथमिकता दिएको प्रहरीले हालसम्म रामपुर नगरपालिकाका नवदुर्गा मावि तिलकपुर, कालिका मावि देविस्थान, सिताराम मावि सदावर्त, दरैठाँटी मावि बिजयपुर, आधारभुत मावि डुम्रीगाउमा अभियान सम्पन्न गरेको प्रहरी निरिक्षक देवकोटाले बताउनुभयो ।
विहिवार आधारभुत माध्यमिक विद्यालय रामपुर ७ पाल्पामा झण्डै १ सय विद्यार्थीको सहभागीतामा सचेतना कार्यक्रम भएको छ । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी बरिष्ठ नायव निरिक्षक भवानीप्रसाद धमलाले सहजीकरण गर्दै सहभागी शिक्षक विद्यार्थीलाई ट्राफिक नियम, सुरक्षा, घरेलु तथा लैङ्गिक हिंसा, कुलतमा फस्ने अबस्था र यसले पार्ने असर बारेमा जानकारी दिनुभएको हो ।