क्रोएसिया र अर्जेन्टिना फिफा बिश्वकपको सेमिफाइनलमा प्रवेश
काठमाडौं ।
कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा क्रोएशिया र अर्जेन्टिना प्रवेश गरेको छ। शुक्रबार राति भएको पहिलो क्वाटरफाइनल खेलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम चारमा पुगेको हो ।
शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो ।
एजुकेसन सिटी स्टेडियममा भएको क्रोएशिया र ब्राजिलको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि अतिरिक्त ३० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।
पेनाल्टीमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच र मिस्लाभ ओर्सिचले गोल गरे । ब्राजिलका क्यासिमेरो र पेड्रोले गोल गरे । रोड्रिगो र मार्क्विन्होस पेनाल्टीमा गोल गर्न चुके । पेनाल्टीमा चुकेसँगै पाँच पटकको च्याम्पियन ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ । क्रोएसियाले भने सेमिफाइनलमा अर्जेन्टिनासँग खेल्नेछ ।
दोस्रो खेल ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो । पेनाल्टीमा अर्जेन्टिनाले बाजी मारेको हो।अर्जेन्टिनाका लियोनल मेस्सी, लिन्ड्रो पारेडेस, गोन्जालो मोन्टिल र लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गरे । त्यस्तै नेदरल्यान्ड्सका लुक डी योङ, वोउट वेघोर्स्ट र टुन कुपमाइनर्सले गोल गरे । नेदरल्यान्ड्स प्रतियोगिताबाट बाहिरिएको छ ।
अब अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियाको सामना गर्नेछ ।