पाल्पामा निर्वाचनको तयारी पूरा, २ लाख १ हजार बढी मतदाता
पाल्पा ।
आइतबार हुने निर्वाचनको सम्पूर्ण तयारी पाल्पामा पुरा भएको छ । जिल्ला निर्वाचन कार्यालय पाल्पाका अनुसार जिल्लाको सबै मतदान स्थलमा तयारी, मतगणना स्थल तयार भएको छ । २ निर्वाचन क्षेत्र रहेको पाल्पामा कुल २ लाख १ हजार ३ सय २६ मतदाता रहेका छन् ।
पाल्पा १ मा ५२ मतदान स्थल र १ सय १५ मतदान केन्द्र र पाल्पा २ मा ६६ मतदान स्थलका १ सय ३१ मतदान केन्द्र गरि १ सय १८ मतदान स्थलमा २ सय ४६ मतदान केन्द्रमा मतदानको तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय पाल्पाका निर्वाचन अधिकारी रुक्मागत अर्यालले जानकारी दिनुभयो । शनिबार सबै मतदान केन्द्रको तयारी पूरा भएको र भोली विहान ७ बजेबाटै मतदान शुरु गरिनेछ ।

मतदानस्थलमा कर्मचारी, सुरक्षाकर्मी खटिएर बुथ निर्माण, महिला, पुरुषका लागि डोरी टाँगेर छुट्टाछुट्टै लाईन बनाइएको छ भने अशक्त अपाङ्गता भएकालाई लाइन बिना सिधै मत हाल्ने व्यबस्था मिलाइएको छ । मतदाता शिक्षा सम्बन्धि सामाग्री व्यानर केन्द्र हाता बाहिर स्पष्ट देखिने गरि राखिएको छ ।
सबै मतदान केन्द्रमा तयारी कार्य पुरा भएको जानकारी आएको छ । भोली विहान ६ बजेदेखि कर्मचारीहरु मतदान केन्द्रमा खटिनेछन् । विहान ७ देखि नै मतदान सुरु हुनेछ । अर्यालले साँझ ५ बजे भित्र मतदान स्थलमा प्रवेश गरेका मतदाताले मतदान गर्न पाउने जानकारी दिनुभयो । मतगणना स्थल निर्माण समेत गरिएको छ ।

पाल्पामा निर्वाचन क्षेत्र नं. १ मा ९६ हजार ३३ जना मतदाता छन् । क्षेत्र नं. २ मा १ लाख ५ हजार २ सय ९२ मतदाता रहेको पाल्पाका मुख्य निर्वाचन अधिकृत कमलराज बिष्टले जानकारी दिनुभयो ।
जसमध्ये निर्वाचन क्षेत्र १ (१)को प्रदेश सभामा ४९ हजार २ सय ५१, निर्वाचन क्षेत्र १ (२)मा ४६ हजार ७ सय ८२ मतदाता छन् । यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ (१)मा ५६ हजार १ सय २० र २ को (२) मा ४९ हजार १ सय ७३ मतदाता छन् ।

पुरुष भन्दा महिला मतदाता बढी रहेको पाल्पामा १ लाख ३ हजार १ सय १८ महिला र ९८ हजार २ सय ८ पुरुष मतदाता छन् । निर्वाचन आयोगले २०७९ मंसिर ३ गतेसम्ममा १८ वर्ष उमेर पुगेका नागरिकले मतदान गर्न पाउने जनाएको छ ।
पाल्पामा २ निर्वाचन क्षेत्र र ४ प्रदेश सभामा कुल ६ सिटका लागि ४५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा क्षेत्र नं. १ मा १० जना, क्षेत्र नं. १ प्रदेश १ र २ मा ५/५ जना, प्रतिनिधि सभा क्षेत्र नं. २ मा प्रतिनिधि सभा तर्फ १३ जना, प्रदेश १ मा ७ र २ मा ५ जना उम्मेद्वारले प्रतिस्पर्धा गर्दैछ । निर्वाचनको लागि पाल्पामा मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीहरु सहित १ हजार ९ सय ७३ जना कर्मचारी र ९ सय ८२ स्वयंम सेवक गरी २ हजार ९ सय ५५ जना परिचालन गरिएको छ । जिल्लामा १ हजार २ सय १५ म्यादी प्रहरी, ८ सय ४० नेपाल प्रहरी, ४ सय बढी नेपाली सेना र ४ सय बढी सशस्त्र प्रहरी परिचालित छन् ।
