भोलि मध्यरातसम्म मात्रै चुनाव प्रचार गर्न पाउने
काठमाडौं ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार र राजनीतिक दलले बिहीबार मध्यरातसम्म मात्रै चुनाव प्रचार गर्न पाउने भएका छन् ।
निर्वाचन कसुर तथा सजाय ऐनमा मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना पूरा नभएसम्म कुनै उम्मेदवार र राजनीतिक दलको पक्ष वा विपक्षमा मत माग्न नपाउने व्यवस्था छ । मंसिर ४ को निर्वाचनका लागि दल तथा उम्मेदवारले गत कात्तिक १७ मा चुनाव प्रचार शुरु गरेका थिए ।
निर्वाचन आयोगले बिहीबार मध्यरातपछिको अवधिलाई विशेष समयका रूपमा व्याख्या गरेको छ । ‘विगतमा यसलाई मौन अवधि भनिन्थ्यो । कानुनमा मौन अवधि भनेको रहेनछ । शून्य समय पनि भन्यौं । तर, ४८ घण्टा भनेको स्थिर समय हो,’ निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भन्नुभयो- ‘आइतबार बिहान ७ बजे मतदान सुरु हुने भएकाले बिहीबार राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसार निषेध हुनेछ ।’
मौन अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ संगठनले निर्वाचन प्रचारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभासम्मेलन, कार्यशाला, गोष्ठी गर्न नपाउने निर्वाचन आयोग नेपालले जनाएको छ ।