मकवानपुर- धादिङ जोड्ने चालीस करोडको सडक टेण्डर हुँदै
हेटौँडा ।
उत्तरी मकवानपुरबाट पश्चिम मकवानपुर हुँदै धादिङ जोड्ने अर्को सडक पनि मकवानपुरमा बन्ने भएको छ ।
सांसद विरोध खतिवडाको पहलमा संसद विकास कोष अन्तर्गतको रकमले उत्तरी मकवानपुर र पश्चिम मकवानपुरका बासिन्दालाई थप राहत हुने गरी सडक निर्माणको काम अघि बढेकोमा त्यसले तिब्रता पाएको छ ।
थाहा नगरपालिकाको वडा नम्बर ७ बाट कैलाश गाउँपालिकाको गोगने, पकनी, सानो डाँडाखर्क हुँदै धादिङ जोड्ने गरी सडकको टेण्डर गर्न लागिएको सडक विभागले जनाएको छ । वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन आउनासाथ डिपिआर सकिएकाले टेण्डर हुने विभागको भनाइ छ । कैलाशबाट धादिङको आमदघाट, मलेखु जोड्ने सडकहरुमा यो सडक पनि जोडिने भएको छ ।
यो सडक बनेपछि थाहाको डाँडाबासबाट धादिङ र पश्चिम मकवानपुरको मनहरी आउजाउका लागि पनि सहज हुने भएको छ । यस्तै, मनहरीबाट खैराङ हुँदै आदमघाट जोडिने सडकका लागि ९८ करोडको सडक प्रस्तावित भएर काम भइसकेको छ । ‘३ वर्षअघिको योजना हो, योजना कार्यान्वयन भएर काम अघि बढ्दा उत्तरी मकवानपुर र पश्चिम मकवानपुरमा सडक सञ्जाल विस्तार भएर त्यहाँका वासिन्दालाई थप राहत पुग्नेछ ।’
सडक विस्तारपछि विकट र दूरदराज भनिएका बस्तीको उत्पादन सहजसँग पालुङ, मनहरी, धादिङ र काठमाडौंसम्म लैजान थप मद्धत मिल्ने थाहा नगरपालिकाका पूर्वप्रमुख लवशेर विष्टले बताउनुभयो ।