आज हरिबोधनी एकादशी, कालीगण्डकीमा स्नान गर्नेको घुइचो
पाल्पा ।
आज हरिबोधिनी एकादशी । हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको पुजा र विवाह गरि मनाइने हरिबोधिनी एकादशी मनाइन्छ ।
असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने मान्यता छ । हरिशयनी एकादशीका दिन घर–घरमा रोपेको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज तुलसीको विवाह गरिन्छ । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ ।
कात्तिक महिनाभर सबै देव–देवी तुलसीमै बस्छन् भन्ने धार्मिक विश्वास छ । आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ ।
तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ ।
आज नेपालका मध्यभागमा बगेको कालीगण्डकीमा बिहानैदेखि स्नान गर्ने र मेला भर्नेहरुको घुइचो लागेको छ । त्यस्तै काठमाण्डाै उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, शेषनारायण र इचङ्गुनारायण ठाउँमा विशेष मेला लाग्दछ । बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका बिष्णु तथा नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।