चितवनका संवेदनशील क्षेत्रमा सेनालाई सुरक्षाको जिम्मा
चितवन ।
चितवन जिल्लाका संवेदनशील क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइने भएको छ । सुरक्षाका दृष्टिले संवेदनशील मानिएका क्षेत्रमा कालिबहादुर गणले सुरक्षाको जिम्मा लिएको हो ।
जिल्ला सुरक्षा समितिको निर्णय र केन्द्रीय सुरक्षा रणनीतिअनुसार सुरक्षाको जिम्मा सेनाले लिएको चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो । कारागार कार्यालय चितवन र नागरिक उड्डयन प्राधिकरण भरतपुरको सुरक्षाको जिम्मा सेनाले लिएको छ । महत्वपूर्ण प्रतिष्ठान र संवेदनशील क्षेत्रमा सेनाले सुरक्षाको जिम्मा लिएको छ उहाँले बताउनुभयो ।
केन्द्रीय सुरक्षा रणनीतिअनुसार जिल्लाका तीन निर्वाचन क्षेत्रमा सेनाले गस्ती बढाएको छ । नियमितरूपमा निर्वाचन सुरक्षा रणनीतिअनुसार गस्ती बढाएको भन्दै उहाँले सेनाले आफ्नो नीतिअनुसार काम गरेको बताउनुभयो । निर्वाचनको सुरक्षाका लागि जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालित छन् ।
मङ्सिर १० गतेसम्म संवेदनशील क्षेत्रको सुरक्षाको जिम्मा सेनाले लिनेछ ।
यसैबीच, निर्वाचनलाई लक्षित गर्दै अनुमति लिएर राखिएका ३२ थान हतियार चितवन प्रहरी प्रशासनलाई स्थानीयले बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनलेआह्वान अनुसार बुझाइएका हतियारमध्ये १२ बोरको १४ थान, १३ बोरको एक थान, पइन्ट टुटु राइफल १० थान, एकनाले बन्दुक एक थान, दुईनाले बन्दुक एक थान र अन्य हतियार रहेका छन् ।
इजाजतप्राप्त हतियार बुझाउन आनाकानी गरेको पाइएमा हतियार नियन्त्रणमा लिइनेछ । नबुझाएका हतियार नियन्त्रणमा लिएर कानुनी प्रक्रिया सुरु गरिने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।