2

Logo २०८३ बैशाख १३ आइतबार
फड्के किराको प्रकोपले धान उत्पादनमा ह्रास आउनेमा पाल्पाका किसान चिन्तित

फड्के किराको प्रकोपले धान उत्पादनमा ह्रास आउनेमा पाल्पाका किसान चिन्तित


Sabalnews प्रकाशित मिति : बुधबार, कार्तिक २ २०७९
869

पाल्पा

रामपुर नगरपालिका ५ का किसान केशब लम्साललाई धानमा लागेको फड्के किराले हैरान पारेको छ ।

धान रोप्ने बेला नहरमा पानी नचलेर १ हप्तापछि धान रोप्नुभएका लम्साललाई धानमा बाला लाग्ने बेला फड्के किराले पहेलपुर बनाइदिएपछि चिन्तामा हुनुहुन्छ । धानको बाला सहितको बोट लिएर कृषि सेवा केन्द्रमा पुग्नुभएका उहाँलाई केन्द्रबाट औषधी दिएर पठाएको छ । पहिले धान पहेलो हुदै गयो बोट कमजोर हुदै जादा राम्रो संग दाना नै बसेन लम्सालले भन्नुभयो ।

रामपुर ५ मटेरी कै बिष्णु गौतमको धान पनि राम्रो गरि पसाउन सकेको छैन । लटरम्म बालाले बोट नुग्ने बेला बाला माथितिर ठडिएको बिष्णुले बताउनुभयो । पहिले नहरको पानी र मलले सताएको थियो अहिले बोट नै पहेंलो भएको उहाँको भनाई छ । गोपीकृष्ण गौतमको धानको अबस्था पनि उस्तै छ ।

रामपुर ६ का किसान धर्मराज ढकाल पनि खेतको धान देखेर दिक्क हुनुहुन्छ । यहाँको करिब १० रोपनीमा लगाएको धानमा फड्के किराले धान सखाप पारेको छ । बिजयपुरमा बिजबृत्ति कार्यक्रममा लगाइएको धानमा फड्के किराको प्रकोप बढी रहेको अध्यक्ष ढकालले बताउनुभयो । रम्भा सघाहाका किसानपनि उत्तिकै फड्केको शिकार भएको वडा अध्यक्ष ईश्वर काफ्लेले बताउनुभयो ।

पाल्पा जिल्लामा फड्के किराको प्रकोपले बाली पहलो बनाउने, फेद कुहेर बोटमा धान नलाग्ने, लागेको बालामा दाना नहुने समस्याले यस बर्ष धान उत्पादनमा ह्रास आउने हुँदा किसान चिन्तित छन् ।

जिल्लाको अन्नभण्डार रामपुर फाँट, माडीफाँट, अर्गली सहित रम्भामा किसानले रोपेको धान बालीमा फड्के किरा (राइस होपर)को प्रकोप फैलिएको जिल्ला कृषि सेवा कार्यालयले जनाएको छ ।

बिशेष गरि किसानले रोपेका सावा मनसुलीमा बढी क्षति पुर्‍याएको छ । खोला किनार आसपासका खेतमा रोपिएको चैते धान बालीमा शुरुमा देखिएको फड्के किराको प्रकोप अहिले खेत बारीका धान सबैमा फैलिएको हो।

पसाउने बेलाका धान बाली पहेँलो हुँदै जाने र मर्ने समस्या देखिएको जानकारी आएपछि कृषि प्राविधिक खेतमा गई धानबालीको अनुगमन गरेका छन् । धानबाली समस्याको कारण फड्के किरा भएको पहिचान भएको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेले बताउनुभयो ।

धान पहेँलो हुँदै जाने र मर्ने समस्याको बारेमा नगरपालिकामा ३ हप्ता अघि जानकारी आएकोे थियो । दशैंको समयमा परेको पानी पछि धेरै किसानको गुनासो आएको छ पाण्डेले भन्नुभयो । रामपुर १० पानसयखोला छेउछाउका खेतमा फड्के किराको कारण धानको बोट मर्न थालेको जानकारी आए आफुहरु पुगेको र अन्य ठाउँमा समेत उत्तिकै समस्या देखिएको उहाँले बताउनुभयो । फड्के किराको आक्रमणका कारण धान बाली पहेँलो भएर सुक्न थालेकोले धानबालीमा ह्रास आउने संभावना रहेको कृषि अधिकृत पाण्डेले बताउनुभयो ।

रामपुर नगरपालिकाका विभिन्न वडाहरुमा कृषक हरुको धानबालीमा फड्के किराको प्रकोप देखीएको र यसले ५/७ दिनमै ठुलो क्षति पुर्याउने हुँदा बुफ्रोफेजिन १ ग्राम प्रती लिटर पानीमा मिसाइ छर्ने, निटेनपाइरम १ मि.लि. प्रतिलिटर पानीमा मिसाइ छर्ने, इमिडाक्लोपृड १ ग्राम ३ लिटर पानीमा मिसाइ छर्ने र छर्दा खेतको वरिपरिबाट छर्दै बिचमा जानुपर्ने पाण्डेले बताउनुभयो ।

बिचबाट छर्दा किरा अर्को खेत बारिमा जान नपाउने र नियन्त्रणमा लिन सकिने पाण्डेको भनाई छ ।
किरा आउनै नदिन मल छर्दा र बीउ बिजन प्रयोग एवं पानीको मात्रा मिलाउन पर्ने र यस्तो अबस्थामा प्राबिधिकको सल्लाह लिन आग्रह गर्नुभयो ।

जिल्लाका अन्नभण्डार मानिने फाँट र खोला किनारका फराकिला फाँटमा उत्पादन हुने धान स्थानीय किसानको बर्षदिन धान्ने अन्न हो । मुख्य बालीका रुपमा रोपिएको धानमा फड्के किराको प्रकोप फैलिएपछि किसान चिन्तित छन्। फड्के किराले धानको गाँजमा बसेर चुस्न थालेपछि बोट पहेँलो हुँदै जाने र मर्ने गरेको कृषि प्राविधिकको भनाइ छ । फड्के किरा उफ्रेर वा उँडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने गरेकाले यसबाट धान बाली बढी जोखिममा पर्ने गरेको किसानको भनाइ छ ।

विगतका वर्ष पनि फड्के किरा लाग्ने गरेको भए पनि यसपल्ट महामारीका रुपमा देखा परेको कृषि शाखाले जनाएको छ । कृषि शाखामा धानको बोट सहित समस्या लिएर आएका किसानलाइ फड्के किरा नियन्त्रणका लागि विषादि वितरण गरिएको शाखा प्रमुख पाण्डेले बताउनुभयो ।

अर्काे तर्फ फुलेको धानमा बर्षात हुँदा धान उत्पादन घट्ने किसान लेखनाथ रेग्मीले बताउनुभयो । फुल झर्‍यो त्यसैले फल हलुङ्गो छ यसैले धान घट्ने पक्कापक्की जस्तै छ उहाँले भन्नुभयो ।
रामपुर ५ भम्बकका गणेश गैरेले धान रोप्ने बेला नहर पहिरो गएर पानी चलेन आकाशबाट आएन खडेरी लाग्यो बल्लतल्ल नहर चलेको रोपेको धान धानमा फड्के किराको प्रकोप देखा परेपछि दिन नै खेतबारीमा हेरेर बितेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com