पाल्पा प्रहरीले मनायो ६७ औं प्रहरी दिवस
पाल्पा ।
६७ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय पाल्पाले सम्मान, उत्कृष्ट कर्मचारी पुरस्कृत तथा पुनर्मिलन कार्यक्रम गरि दिवस मनाएको छ ।
जिल्ला पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, जिल्ला प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरु, पुर्व प्रहरी कर्मचारीहरु, अमर प्रहरीका परिवार, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, समाजसेवी लगायत झण्डै १ सय ५० जनाको उपस्थिति रहेको थियो ।
प्रमुख अथिति पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले शान्ति सुरक्षालाई अझै मजबुद बनाई राख्न प्रहरीको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो ।

पाल्पाका प्रहरी उपरीक्षक जनक बहादुर शाहीले जस्तोसुकै अबस्थामा पनि देश र नागरिकको शान्ति सुरक्षा प्रति प्रहरीले कर्तव्य निर्वाह गरेको बताउनुभयो । उहाँले यो भुमिकामा खट्ने र सहकार्य सहयोग गर्ने सबैलाई धन्यवाद दिदै निरन्तर सहकार्यमा जोड दिनुभयो । पुर्व प्रहरी कर्मचारीहरु र अमर प्रहरी परिवारहरुसँग पुर्नमिलन कार्यक्रम सहित भएको कार्यक्रममा अमर प्रहरीहरुमा शोक सलामी, स्मारकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण, अमर प्रहरी परिवारहरुलाई दोसल्ला द्वारा सम्मान गरिएको थियो ।
प्रहरीलाई बिभिन्न क्षेत्रमा सहयोग गर्ने व्यक्तिहरुलाई प्रशंसा-पत्रद्वारा सम्मान, बर्ष भरी उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत तथा ब्याडमिन्टन प्रतियोगितामा प्रथम, द्वितिय तथा तृतिय खेलाडीहरुलाई पुरस्कार तथा प्रशंसा-पत्र बितरण गरिएको छ । पाल्पाका प्रहरी नायव उपरीक्षक बीरेन्द्र थापाले स्वागत गर्नुहुदै प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले ६७ औं प्रहरी दिवस २०७९ को अवसरमा दिनु भएको शुभकामना सन्देश वाचन गर्नु भएको थियो ।