जापानीज नागरिक ओकेबाजेले गरे नेपालमा चौरासी पुजा
पाल्पा ।
जापानीज नागरिक ओकेबाजेले नेपाली संस्कृति अनुसार नेपालमा चौरासी पुजा सम्पन्न भएकाे छ । विगत ३० वर्षदेखि पाल्पाको सामाजिक जिवनमा काम गदैै आएका काजुमासा काकिमी ओकेबाजेको हिन्दु संस्कार अनुसार चौरासी पुजा गरिएको हाे ।
आईतबार दशैको कोजाग्रत पुर्णिमा अवसर पारेर पुर्वी पाल्पाको गंगा माविमा जिल्लाका स्थानीय तह र संघ सस्थाले आयोजना गरि पुजा गरिएको हाे ।
शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा सक्रिय काजुमासा काकिमी ओकेबाजेलाई वैदिक विधि अनुरुप सहचन्द्र दर्शन एवं चौरासी पुजा सहित रामपुरमा अभिनन्दन गरिएको हो । उनको योगदानको कदर गर्दै सम्मान स्वरुप दीर्घजीवनको कामना सहित चौरासी पुजा गरी अभिनन्दन गरिएको हो ।
जापानमा जन्मेर पनि नेपाली भुमिमा लामो समय देखि सक्रिय ओकेबाजेको नेपाली परम्परा अनुसार ३० जना पुरोहितबाट पुजा गरिएको मुल पण्डित हरिप्रसाद खनालले जानकारी दिए। सहचन्द्र दर्शन एवं चौरासी पुजा मूल आयोजक समितिका अध्यक्ष एवं गंगा माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज देवकोटाले बाजेको दीर्घजीवन कामना र उहाँको योगदानको कदर गर्दै सहचन्द्र दर्शन एवं चौरासी पुजा गरिएको बताए । उनले यस क्षेत्रको शैक्षिक संस्था, स्वास्थ्य संस्था, सामाजिक संघ संस्थाको पूर्वाधार निर्माण, खानेपानी योजना, जिविकोपार्जन, बालबालिकालाई छात्रवृति प्रदान तथा निम्न परिवारका व्यक्तिहरुको स्वास्थ्य उपचारको लागि महत्वपूर्ण सहयोग गर्दै आएका छन् ।
ओकेबाजेले झण्डै ५ बर्ष अघि नागरिक अभिनन्दनका क्रममा आफू ८४ बर्ष पुग्न लागेकोले नेपालीले गर्ने चौरासी पुजा आफुले गर्ने इच्छा राखेका थिए ।
८४ वर्ष पुगेको उपलक्ष्यमा बाजेलाई विद्यार्थी, शिक्षक तथा संघ संस्थाका प्रमुखहरुको उपस्थितिमा रामपुर नगर परिक्रमा समेत गराईएको थियो । सो अवसरमा विभिन्न विद्यालयहरुले स्वागत सहित सम्मान गरेको छ । नेपाली परम्परा अनुसार पुजा गर्ने व्यवस्था मिलाएकोमा ओकेबाजेले सबैलाई धन्यवाद दिए।
पाल्पालीकाे अपार मायाँ र स्नेह प्रदान गरेकोमा खुशी व्यक्त गर्दै निरन्तर सेवामा सक्रिय हुने बाजेको भनाई थियाे ।
जिल्लाका रामपुर नगरपालिका, तानसेन नगरपालिका, निस्दी, माथागढी, पुर्वखोला, रम्भा, गाउपालिका सहित क्याम्पस, विद्यालय एवम् स्थानीय संघ संस्थाको आयोजनामा गंगा माध्यमिक विद्यालय रामपुर ८ एक्लेटारमा चौरासी पुजा गरिएको हो । पुजाको अवसरमा सम्पूर्ण विद्यालय तथा संघ संस्थाले अभिनन्दन गरेका छन् ।
कार्यक्रमको अवसरमा मगरी संस्कृतिमा आधारित कौरानाच समेत देखाएको छ । ओकेबाजेको पुजा तथा अभिनन्दनमा विभिन्न पालिका जनप्रतिनिधि, विद्यालय, संघ संस्था तथा नागरिकको उत्साहजनक सहभागीता रहेको थियोे । अभिनन्दनमा जापानी नागरिहरुको पनि उपस्थिति थियो ।