खोलाले बगाउदा पाल्पामा एक युवा बेपत्ता
पाल्पा ।
रामपुर नगरपालिका र निस्दी गाउँपालिका बिचको साखर्दी खोलाले बगाएर एक जना पुरुष बेपत्ता भएका छन् ।
ससुराली गएर फर्किने क्रममा निस्दी गाउँपालिका १ अर्मलाङ्गका अन्दाजी ३८/३९ वर्षिय टक बहादुर बराई राना बेपत्ता भएको प्रहरीले जनाएको छ । निस्दी १ बाकामलाङबाट निस्दी २ को सहलकोट सुकेकोट पुग्न रामपुर नगरपालिका गाडाकोट हुदै जानुपर्छ ।
अन्य २ साथी संगै दशैं मान्न निस्दी २ सुकेकोट ससुराली गएका उनीहरु फर्किने क्रममा शुक्रबार अपरान्ह रामपुर १ कठैडाडाबाट साँखर्दी खोला हुँदै निस्दी १ डोकोडाँडा फर्कने क्रममा थिए । संगै रहेका साथीहरु चन्द्र बहादुर आले र नेश्नल राना खोला तरे । बराई खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको उनीहरुको भनाई छ । लगातार पानी परेकोले खोला बढेको छ ।
स्थानीयले खोजी गरेका छन् । स्थानीयले खोलाले मानिस बगाएको खबर प्रहरीलाई गरेपनि निरन्तर पानी परेको र बाटो पहिरो गएकाले जान सकेन । कालीगण्डकी करिडोर अन्तर्गत रामपुर १ को काशीवनमा खसेको पहिरोका कारण साँझ सम्म प्रहरी जान नसकेको केलादी प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक कृष्ण तिरुवाले बताउनुभयो । शनिबार बिहानदेखि पनि आफन्तजन, स्थानीयले खोजी गरेका छन् ।