मगर संस्कृति बोकेको चलचित्र “रोस्” को ट्रेलर सार्वजनिक
पाल्पा ।
मगर संस्कार, संस्कृति र परम्परामा आधारित मगर चलचित्र “रोस्” को ट्रेलर सार्वजनिक भएको छ ।
सुनारी फिल्मस् प्रालिको व्यानरमा निर्माण गरिएको मगर चलचित्र रोस् को ट्रेलर सार्वजनिक संगै मगर भाषाको चलचित्रमा आकर्षण बढेको छ । पाल्पा जिल्लाको पूर्वी भेगका मगर समुदायको संस्कार, संस्कृति र परम्परामा चलचित्र आधारित छ । चलचित्र “रोस्” को अर्थ चलन हो।
पाल्पाको पुर्व निस्दी गाउँपालिकाको गल्धा, खरकडाँडा लगायत पालिकाका विभिन्न स्थानहरुमा छायांकन गरिएको यस चलचित्रमा घाटु नाचमा पुरुष कलाकार नाच्न किन मिल्दैन भन्ने विषयको उठान समेत गरेको छ । चलचित्रमा निस्दीको गल्धा, मित्याल, झिरुबास, ज्यामिरे लगायतका विभिन्न स्थानहरुमा बैशाखको पन्चमी, पूर्णिमा तिथिमा नचाइने घाटु नाचका साथै मगरी चालचलन र परम्परालाई मुख्य कथावस्तु बनाएको छ ।
चलचित्रमा स्त्थानीय धन बहादुर बयम्बु मगर, बोम बहादुर बयम्बु मगर, जेनिसा सोती मगर र थानी सरा सुनारी मगर लगायतका कलाकारहरुले अभिनय गरेका छन् । दिल बहादुर बयम्बु मगरको उत्पादन, दिपेन बस्नेतको छायांकन तथा सम्पादनमा निर्माण भएको उक्त चलचित्रको लेखन तथा निर्देशन बुद्ध्य सुनारी मगरले गर्नुभएको हो ।
यस अघि मगर चलचित्र मराङ् निर्माण गर्नुभएका निर्देशक सुनारीले तिहार लगत्तै रोस् चलचित्र प्रदर्शन गर्ने तयारीमा रहेको बताउनुभयो ।