माग पूरा गर्ने भरतपुर मेयर रेणुको आश्वासनपछि भारद्वाजको अनशन तोडियो
चितवन ।
विभिन्न माग राख्दै चितवन नारायणी नदी किनारमा आमरण अनसनमा बस्नुभएका धार्मिक अभियन्ता प्रेमनिधि भारद्वाजको अनशन शुक्रबार टुंगिएको छ।
नेपाललाई सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने, वेदलाई राष्ट्रिय ग्रन्थ घोषणा गर्नुपर्ने, सम्पूर्ण पालिकामा सुरक्षित गोवनको व्यवस्था गर्नुपर्ने लगायत ६ सूत्रीय र नारायणी नदी किनारमा नित्य संचालन भइरहेको महाआरतीस्थललाई सुरक्षित स्थान उपलब्ध गराई महाआरती संचालनार्थ महानगरबाट आर्थिक सहयोगको प्रबन्ध गर्नुपर्ने लगायतका ३ बुँदे माग राख्दै धार्मिक अभियन्ता भारद्वाज अनशन बस्नुभएको थियो ।

गत असोज १ गतेदेखि भरतपुर महानगरपालिकाको नारायणी नदी किनारमा अनसन बस्नुभएका भारद्दाजलाई भरतपुर महानगरका मेयर रेनु दाहालले माग सम्बोधन गर्ने वचन दिएर अनसन तोडाउनुभएको हो ।
नारायणी नदी किनार नारायणघाटमा गत २०७६ वैशाख १ गतेदेखि नित्य महाआरती चल्दै आएको छ । सो स्थललाई स्थललाई आवश्यक सुरक्षित स्थान उपलब्ध गराई महाआरती संचालनार्थ महानगरबाट आर्थिक सहयोगको प्रबन्ध गर्ने तथा भरतपुर महानगरबाट प्रदान गरिने छात्रवृत्ति वितरणमा धार्मिक गुरुकुल, अनाथआश्रम लगायत संघ-संस्थामा बसेर अध्ययन गर्ने छात्र-छात्राहरूका लागि पनि नि:शुल्क अध्ययन र अनाथालय संचालन गर्न वार्षिक बजेट प्रदान गर्ने प्रतिबद्धता जनाएपछि आमरण अनशन टुंगिएको हो।
अनसनरत भारद्दाजलाई स्वामी ज्ञानानन्द सरस्वती र भरतपुर महानगरका मेयर रेनु दाहालबाट नारायणी गण्डकीको जलपान गराएर अनशन समापन गरिएको हो।
सोही अबसरमा विश्व हिन्दु महासङ्घका केन्द्रीय सदस्य टंकनाथ पौडेल, संघर्ष समितिका संयोजक शान्तप्रसाद पोखरेल, कोषाध्यक्ष जीवलाल पुरी, प्रवक्ता ध्रुवराज मिश्र, वरिष्ठ भजन गायक हीरालाल कंडेल लगायतको सहभागिता रहेको थियो ।
भारद्वाज लगायत चार जना युवाहरूले गत २०७२ सालमा पनि नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने माग राखी १७ दिनसम्म काठमाडौँमा अनशन बस्नुभएको थियो। भारद्वाज २०६३ मा नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरेपश्चात् लगातार हिन्दुराष्ट्रको आन्दोलनमा सक्रिय हुनुहुन्छ।