पाल्पामा २५ पण्डितबाट जापानीज नागरिक “ओकेबाजी”को चौरासी पुजा
पाल्पा ।
जापानिज नागरिक समाजसेवी काजुमासा ककिमी “ओकेबाजे” को चौरासी पुजा २५ जना पण्डितबाट हुने भएको छ ।
आगामी असोज २३ गते कोजाग्रत पुर्णिमाको अबसर पारी नेपाली परम्परा अनुसार जापानीज नागरिक काजुमास काकिमी ओकेबाजेको चौरासी पुजा गर्ने यस अघि नै निर्णय भएको थियो ।
चौरासी पुजा मुल आयोजक समितिको तयारी बैठक तथा शैक्षिक क्षेत्रका व्यक्ति र सरोकारवालाहरु बिचको तयारी छलफलमा पुजा मुल आयोजक समितिका अध्यक्ष तथा गंगा मा वि रामपुर ८ का प्रध्यानध्यापक देबराज देवकोटाले नेपालीको सबैभन्दा ठूलो चाड दशैको कोजाग्रत पुर्णिामामा २५ पण्डितहरुको बाचन मार्फत पुजा हुने जानकारी दिनुभयो ।
पाल्पाको शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा सक्रिय ओकेबाजेको चौरासी पुजा रामपुरको गंगा मावि एक्लेटारमा हुनेछ । पाल्पामा रहेर झण्डै ३ दशकदेखि पाल्पालीको सेवामा लाग्नुभएका ओकेबाजेलाई पाल्पालीले पटक- पटक नागरिक अभिनन्दन गरिसकेका छन् । नागरिक अभिनन्दनकै समयमा ओकेबाजेले अझै नेपालीको सेवामा दत्तचित्त भएर लाग्छु र ८४ बर्षसम्म बाचेर नेपालीहरुले झै कर्मथलो पाल्पामा चौरासी पुजा गर्छु उहाँले भन्नुभएको थियो । उहाँकै सम्मान स्वरुप दिर्घजीवनको कामना गर्दै पाल्पाली र पाल्पाका स्थानीय तह मिलेर बैद्धिक बिधि अनुरुप सहचन्द्र दर्शन एवं चौरासी पुजा गर्न लागिएको हो ।
बाजेको चाहाना अनुसार सम्मान स्वरुप दिर्घजीवनको कामना गर्दै बैद्दिक बिधी अनुरुप सहस्र चन्द्रदर्शन एवं चौरासी पुजा पुनः अभिनन्दन गरिनेछ ।
पाल्पाली नागरिक, पाल्पाका शैक्षिक सस्था, रामपुर नगरपालिका, तानसेन नगरपालिका, रम्भा गाउँपालिका, निस्दी गाउँपालिका, पुर्वखोला गाउँपालिका र माथागढी गाउँपालिका सहित विभिन्न संघ संस्थाहरुले संयुक्त रुपमा चौरासी पुजाको आयोजना गरेका हुन् ।
पुजा तयारीको लागि ४५ सदस्यीय मुल आयोजक समिति र सचिवालय समिती गठन भएको छ । समितिले चरणबद्ध र समन्वयात्मक रुपमा काम गरिरहेको नवदुर्गा मावि रामपुर ६ तिलकपुरका शिक्षक दिपेन्द्र भट्टराईले जानकारी दिनुभयो ।
चौरासी पुजाको दिन नजिकिदै गर्दा पाल्पामा ओकेबाजेलाई सम्मान र पुजालाई उत्कृष्ट गर्न तयारीलाई जोड दिएको उहाँले बताउनुभयो ।