जापानिज नागरिक काजुमासा काकिमी “ओकेबाजे”ले ८४ पुजा नेपालमा गर्ने
पाल्पा ।
३ दशकदेखि पाल्पालाई कर्मथलो बनाउदै आएका जापानिज नागरिक काजुमासा काकिमी ओकेवाजेले नेपाली संस्कार अनुसार नेपालमा चौरासी पुजा गर्ने भएका छन् ।
पाल्पामा शिक्षा, स्वास्थ्य लगायत पाल्पालीको हरेक सुखदुःखमा जोडिदै आएका ओकेबाजेले आफू पाल्पाली जनताको सेवामा रहन पाउँदा ८४ बर्ष टेक्न सफल भएको बताउनुभयो । नेपाली त्यसमाथि ऎतिहासिक पाल्पा र पाल्पाको बिकट जल्पालाई आफ्नो घर र समुदाय ठान्दै आएका ओकेबाजेले जल्पा सहित पुर्वी पाल्पामा जिवनको उर्जाशिल लामो समय बिताएका छन् ।
नेपालीको हितमा लागिपरिरहने ओकेबाजेले राष्ट्रिय सम्मान पाएका छन् । प्रदेश सरकारले सम्मान गरिसकेको छ भने पाल्पालीले धेरैपटक नागरिक अभिनन्दन गरेका छन् । ४ बर्ष अघि रामपुरमा नागरिक अभिनन्दन गर्दा ८४ पुजा पाल्पाको थलोमा गर्ने इच्छा रहेको बताएका थिए । नेपाली भाषा सरसर्ती बोल्ने ओकेबाजेले “नेपालीको नजिकको साथी हुन पाउदा निकै खुशी छु, मलाई नेपाली नै भन्दिए निकै खुशी लाग्छ, म यहीँ सेवा गर्दा गर्दै नेपालमा नै मर्न चाहन्छु त्यो पनि यही थलोमा ८४ पुजा गरेर” उनले उद्घोष गरे ।
ओकेबाजेले पुर्वी पाल्पामा करोडौ रकम सहयोग गरेका छन् भने दैनिक स्कुल र संघसस्थामा पुगेर हौसलाको साथ केही न केही सहयोग गर्छन् । निरन्तर सहयोग गरेको रामपुरको नमुना विद्यालय गंगा माध्यामिक विद्यालयमा ओकेबाजेले ८४ पुजा गर्नेछन् । ओकेबाजे ८४ बर्ष पुगेको अवसरमा गंगा माविमा बसेको सरोकारवालाको भेलाले आउदो असोज २३ गते अर्थात अक्टोबर ९ तारिखका दिन पुजा गर्ने गरि दिन तोकेको छ ।
गंगा माध्यामिक विद्यालयका प्रधानाध्यापक देवराज देवकोटाले विगत लामो समयदेखि शिक्षा क्षेत्रमा योगदान गरि राख्नुुभएका ओकेवाजेको सम्मानकै लागि विद्यालयमा ८४ पुजा गरिदिन विद्यालयले चाहेको बताउनुभयो । उहाँले जीवनको लामो समय नै आफ्नो देश जापान छोडेर नेपालको पाल्पामा रहेर विभन्न पहलमा धेरै विकास गर्नुभएको छ, हाम्रो दायित्व पनि हो दायित्वलाई स्वीकार्नुभएकोमा हामी सबै शिक्षासेवी खुशी छौ ।
उमेरले ८४ बर्ष पुगेपछि नेपालमा धेरै नागरिक थुपुक्क बस्ने गरेको देखेको छु, जापानिज नागरिक काजुमासा काकिमी ओकेवाजेले भन्नुभयो- त्यसरी बस्दा पनि गर्न सक्ने कामहरु निरन्तर गर्नुपर्छ । जापानिज नागरिकमा अरुलाई खुसी बनाउन धेरै सहयोग गर्ने सोच हुन्छ ओकेबाजेले थप्नुभयो- नेपालीहरुको मायाले छोडेर जान सोच्नै नसकिने हुन्छ ।
भेलाले गंगा माविका प्रधानाध्यापक देवराज देवकोटा अध्यक्षतामा तथा रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, तानसेन तथा माथागढी गाउँपालिकाका माध्यामिक विद्यालयका प्रधानाध्यापक, वडाअध्यक्ष,पत्रकार तथा संचारसंस्था सदस्य रहेको चौरासी पुजा मुल आयोजक समिति गठन गरेको छ । भेलाले चौरासी पुजा संचालनका लागि सवै विद्यालय, तथा स्थानीय संघसंस्थाबाट सहभागिता बापत न्युनतम ५ हजार रुपैंयाका दरले सहयोग संकलन गर्ने, प्राप्त रकम पुजा अवधिभर नजिकको बैकमा खाता खोलेर एकद्धार प्रणालीमार्फत आर्थिक कारोबार गर्ने, पुजाको प्रचार-प्रसार गर्ने लगायतको निर्णय गरेको शिक्षक लेखनाथ शर्मा मरासिनीले बताउनुभयो ।
भेलाले पाल्पाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितीका संयोजक, तानसेन नगरपालिका, रामपुर नगरपालिका, सवै गाउँपालिकाका प्रमुख, लुम्बिनी प्रदेशसभा सदस्य सहितको सल्लाहकार समिति चयन गरेको छ । भेलामा नेपाल संस्कृत विश्वविद्यालयका सहायक प्रध्यापक डाक्टर खेमराज खनालले धार्मिक विधिबाट गरिने चौरासी पुजाबारे जानकारी गराउनुभएको थियो ।
करिब ६ लाख लागतमा सम्पन्न हुने पुजाका निम्ति सचिवालय स्थापना गरी व्यवस्थापनको काम शुरु गरिने आयोजकले जनाएको छ । भेलामा गंगा माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरनारायण अर्यालले विद्यालयमा गरिने ओकेबाजेको सम्मानका निम्ति गरिने पुजालाई व्यवस्थित बनाउन सवैको सहयोग अपरिहार्य रहेको बताउनुभयो । भेलाले पुजा सम्पन्न गर्न ४५ सदस्यीय मुल आयोजक समिति तथा २४ सदस्यीय सचिवालय समिति निर्माण गरेको छ ।