पाल्पा विकास केन्द्रको अध्यक्षमा पुनः कृष्ण पोखरेल
पाल्पा ।
पाल्पामा रहेर मिडिया क्षेत्रको विकासमा काम गर्दै आएको पाल्पा विकास केन्द्रको अध्यक्षमा पुनः पत्रकार कृष्ण पोखरेल निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार तानसेनमा भएको केन्द्रको १२ औं साधारण सभा तथा चौथौं अधिवेशनले पोखरेललाई पुनः अध्यक्षमा चयन गरेको हो ।
केन्द्रको उपाध्यक्षमा कृष्ण गहतराज, सचिवमा विनोद नेपाल, सह–सचिवमा विनोद भारती, कोषाध्यक्षमा बसन्ती ढकाललाई चयन गरेको छ । यस्तै केन्द्रको सदस्यमा किरण कौशल, किशोर भट्टराई, विश्वराज भट्टराई र शर्मिला अधिकारी रहनुभएको छ ।
केन्द्रको सल्लाहकारमा बाबुराम कार्की, गोपाल प्रसाद बस्याल, मेघराज शर्मा र झपेन्द्र जिसी हुनुहुन्छ ।
पाल्पा जिल्लामा रहेर लामो समयदेखि पत्रकारिता गरिरहनुभएका सक्रिय पत्रकार पोखरेलले संस्थालाई थप सशक्त बनाउँदै लैजाने बताउनुभयो । लुम्बिनी प्रदेशमा सस्था सक्रिय बनाउदै मिडिया क्षेत्रलाई आगामी दिनमा सशक्त बनाउन प्रयत्न रहने प्रतिबद्धता जनाउनुभयो ।
अधिवेशनको उद्घाटन गर्दै गैरसरकारी महासंघ पाल्पाका अध्यक्ष भेषराज तिमिल्सीनाले पाल्पा विकास केन्द्रले मिडियाको विकासमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । नेतृत्वदायी संस्था र निकायको सहयोगी भूमिकामा गैरसरकारी संस्थाहरुले काम गर्दै आएकाले स्थानीय सरकारहरुले त्यही अनुसारको समन्वय र भूमिका खेल्नुपर्नेमा अध्यक्ष तिमिल्सीनाले जोड दिनुभयो ।
कार्यक्रममा पाल्पा संग्रहालयका अध्यक्ष राजेन्द्र गोपाल सिंह, तानसेन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पुष्करराज रेग्मी, पशु सेवा कार्यालयका प्राविधिक युवराज ज्ञवाली, निर्वाचन मण्डलका संयोजक बाबुराम कार्की लगायतले केन्द्रको गतिविधि र खेलेको सामाजिक कार्यबारे बोल्नुभएको थियो ।
विकास केन्द्रका कार्यक्रम संयोजक किरण कौशलले केन्द्रले गरेका कार्यक्रम र समन्वय विषयमा जानकारी दिनुभयो । केन्द्रका कोषाध्यक्ष बसन्ती ढकालले १ करोड १२ लाख २२ हजार बराबरको आय व्यय प्रस्तुत गर्नुभयो ।
संस्थाका अध्यक्ष कृष्ण पोखरेलको अध्यक्षता, सचिव विनोद नेपालको स्वागत र भविन्द्र गौतमको सञ्चालनमा कार्यक्रम भएको हो ।
२०६५ सालमा स्थापना भएको पाल्पा विकास केन्द्रले लुम्बिनी प्रदेशमा मिडिया विकास र नीतिगत बहस तथा अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको छ ।