एसईई पुरक परीक्षाको मिति तय, दुई विषयमा अनुपस्थित पनि सहभागी हुन पाउने
काठमाडौं ।
माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षाको मिति परीक्षा बोर्डले तय गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले ग्रेडबृद्धि परीक्षाको समय तालिका आइतबार प्रकाशन गरेको हो।
बोर्डले आगामी भदौ ११ र १२ गतेका लागि पुरक परीक्षाको मिति तोकेको छ । सूचनाअनुसार गत वैशाखमा भएको एसईई परीक्षामा भाग लिएका विद्यार्थीले बढीमा दुई विषयमा मात्र ग्रेडबृद्धि गर्न पाउनेछन्। दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थीले पनि पुरक परीक्षा दिन पाउनेछन्।
परीक्षामा सहभागी हुने विद्यार्थीले तोकिएको ५ सय राजश्व तिरेर सम्बन्धित विद्यालयमा फाराम भर्न सक्नेछन् । भदौ ११ मा अनिवार्य अंग्रेजी विषय र १२ मा आफूले परीक्षा दिनेमध्ये अर्को विषयको परीक्षा हुनेछ । परीक्षा समय बिहान ८ देखि ११ बजेसम्म हुनेछ।