पुतलीबजार नगरपालिकाले गर्यो सवारी पटके खारेज
स्याङ्जा ।
जिल्लाको पुतलीबजार नगरपालिकाले सडक उपयोग गरेबापत सडकमा गुड्ने सवारी साधनको लिदै आएको पटके सवारी कर खारेज गर्ने निर्णय गरेको छ।
शनिबार बसेको पुतलीबजार नगर कार्यपालिकाको बैठकले पुतलीबजार नगर क्षेत्रभित्र सडकमा लगाइँदै आएको सडक उपयोग शुल्क खारेज गरेको हो।
खासगरी पुतलीबजार नगर क्षेत्रभित्रका भित्री सडकहरुमा प्रवेश गर्दा सडक मर्मतका लागि भन्दै सडक उपयोग शुल्क वा पटके कर लिइँदै आएको थियो । जति पटक सवारी सडकमा गुड्छ, त्यति नै पटक शुल्क तिर्नुपर्ने नियम बनाइएका कारण यसबाट यातायात व्यवसायीहरु असन्तुष्ट थिए । एउटै सडकमा जति पटक सवारी चल्छ, त्यति नै पटक शुल्क तिर्नुपर्ने भएकाले यसलाई ‘पटके कर’ का नामबाट चिनिन्छ । स्याङ्जामा सबै पालिकाहरुले यस्तो सडक उपयोग शुल्कको व्यवस्था गरेका थिए भने पछिल्लो समय व्यापक जनगुनासोपछि पालिकाहरुले यसलाई हटाउन थालेका छन् ।
यातायात व्यवसायी र सर्वसाधारणको गुनासोपछि पुतलीबजार नगर सभाले एउटा सडकमा एकपटकमात्र सडक उपयोग शुल्क तिरे हुने निर्णय गरेको थियो । यसबाट यातायात व्यवसायी केही सन्तुष्ट भएका थिए । नगर सभाबाट सवारी शुल्क दर २५ प्रतिशतले घटाउने निर्णय गरेको थियो । यो निर्णयपछि पनि पुतलीबजारभित्रको सवारी उपयोग शुल्क पूर्ण रुपमा खारेज हुनुपर्ने भन्दै दबाब बढ्दै गइरहेको र जनगुनासो बढ्दै गइरहेपछि नगर कार्यपालिकाले उक्त गुनासोलाई सम्बोधन गरी सडक उपयोग शुल्कका रुपमा लिइने सम्पूर्ण शुल्क खारेज गरेको हो ।
सवारी उपयोग शुल्क खारेज गर्ने निर्णयका सम्बन्धमा पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले ‘हिजो चुनावका बेलामा पनि हामीले बोलेकै हो । पटकपटक सवारी कर तिर्नुपर्ने अवस्थाले धेरैलाई समस्यामा पारेको गुनासो छ । छिमेकी नगरपालिका र गाउँपालिकाहरुले पनि पटके कर हटाएको अवस्था र आम नागरिकहरुको दुःखलाई हेरेर हामीले सवारी कर र चुङ्गीकर खारेज गर्ने निर्णय गरेका हौं।’
पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले पुतलीबजार नगरपालिकाले राष्ट्रिय राजमार्ग बाहेकका नगरपालिकाको लगानीमा भएका सडकहरुको सन्दर्भमा सडक मर्मतका लागि भनेर सवारी साधनलाई लिइने गरेको सडक उपयोग शुल्क हटाइएको बताउनुभयो । ‘नागरिकलाई प्रत्यक्ष असर पर्ने खालका करहरुलाई पुनर्विचार गर्ने बरु करका अन्य दायराहरुको खोजी गर्ने भन्ने सन्दर्भमा यो निर्णय भएको हो। उहाँले भन्नुभयो ।’
बाडखोला-दुलेगौडा ग्रामीण सडक, प्रगतीनगर-बहाकोट ग्रामीण सडक, स्याङ्जा-पुतलीखेत-लाम्पाटा-टिकाजा-सतौं-आरुचौर ग्रामीण सडक, प्रगतीनगर-घुम्ती चिसापानी ग्रामीण सडक, सुम्रेखोला-नुहारभन्ज्याङ-अर्जुनचौपारी ग्रामीण सडक, जाँडखोला-पेल्काचौर ग्रामीण सडक, स्याङ्जा बजार-हुनिकोट ग्रामीण सडक, पुतलीखेत-ठूलीवेशी उनियाचौर-नागडाँडा सडकलगायत अन्य सडकमा नगरपालिकाले सडक मर्मतका लागि भन्दै सडक उपयोग शुल्क लिने गरेको थियो ।
नगर कार्यपालिकाको कर खारेज निर्णय संगै अब सडकमा कुनै प्रकारको सवारी शुल्क कर तिर्नु पर्दैन। यो निर्णयबाट पुतलीबजार नगर क्षेत्रभित्रका यातायात व्यवसायी र आम सर्वसाधारणमा खुसीयाली छाएको छ ।