चर्को बिरोधपछि रामपुर खानेपानीले घटायो महशुल
पाल्पा।
स्थानीयको चर्को बिरोधपछि पाल्पाको रामपुरमा संचालित रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानीको महशुल घटाएको छ ।
स्थानीयले मासिक रिडिङ र न्युनतम उपभोग रकमको मुल्य चर्को भएको गुनासो गर्दै आएका थिए । उपभोक्ताको बारम्बारको बिरोधपछि मूल्य समायोजनमा खानेपानी उपभोक्ता समिति पुगेको हो ।
उपभोक्तालाई केही राहत दिदै समितिले ८ युनिट सम्म १ सय ७५ रुपैया, ९ देखी २० युनिटसम्म प्रतियुनिट ४० रुपैया थप र २१ देखि माथि प्रति युनिट ६३ रुपैया प्रति युनिट मूल्य कायम गरेको खानेपानी सस्थाका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुभयो । यसअघि पहिलो १० युनिट सम्म २ सय ७५ रुपैया, १० देखि २० युनिट सम्म प्रति युनिट ४२ रुपैयाँ र २१ देखि माथि प्रति युनिट ६३ रुपैयाँ थप रकम लिएको थियो । खानेपानी सस्थाले विपन्न परिवारलाई पानी खपतमा महशुल घटाएको बताउनुभयो ।
नगरपालिका र वडाको आर्थिक सहयोगमा बिपन्न परिवारमा धारा जडान गरिएको छ । आयोजना सञ्चालनको क्रममा नगर विकास कोष संग भएको सम्झौता अनुसार महशुल दर घटाउन नसकेकोमा अहिले बाटो खुलेपछि मूल्य कम बनाइएको श्रेष्ठले बताउनुभयो । नगर विकास कोषको सहयोगमा खानेपानी योजना सम्पन्न भएको हो । संस्थाले नगर विकास कोषसंग लिएको ऋण तिर्न अझै बाँकी रहेको कोषाध्यक्ष विष्णु मायाँ ढकालले जानकारी दिनुभयो । कोषले मुल्य घटबढमा अनुमति दिएपछि घटाउन सकिएको हो, सस्थाका सचिव शालिकराम सिग्देलले भन्नुभयो-कोषले हेरफेर गरेर मात्र हामीले थपगढ गर्न सकिन्छ ।
नेपाल सरकारको ५० प्रतिशत, एसियाली विकास बैंक र नगर विकास कोषको ४५ प्रतिशत ऋण र उपभोक्ताको ५ प्रतिशत लागत गरि २६ करोड ४० लाख १५ हजारको लागतमा खानेपानी आयोजना सम्पन्न भएको हो । संस्थाले बोरिङ्गबाट पानी तानेर संकलन गरी रामपुर नगरपालिका वडा नम्बर ४, ५, ६ र ७ का उपभोक्ताहरुलाई पानी खुवाउदै आएको छ । जसमा ३ हजार ७ सय ६४ धारा जडान छ । शहरीकरण बढेको रामपुरमा वार्षिक रुपमा १ सय ५० बढी ग्राहक थपिने गरेका छन् ।