निस्दीका वनमा १७ हजार बिरुवा, उपभोक्तालाई वृक्षारोपणमा आकर्षण
पाल्पा ।
निस्दी गाउँपालिका पाल्पाको विभिन्न सामुदायिक वनहरुमा १७ हजार बढी विरुवा रोपिदैछन् । निस्दी सव डिभिजन वन कार्यालय पाल्पाले निस्दीका विभिन्न सामुदायिक वन, कबुलियती वन तथा निजी जग्गामा वृक्षारोपण अभियान नै संचालन गरेर वृक्षारोपणमा आकर्षण बढाएको छ ।
डिभिजन वन कार्यालय पाल्पाको अनुदानमा यहाँका ५ वटा सामुदायिक वनले खाली क्षेत्रमा विरुवा लगाएको छ । जसमा वनहरुले ८ हजार बढी तेजपात, ३ हजार चिउरी र ६ हजार बढी खयरको विरुवा रोपेका छन् । वृक्षारोपणको लागि ४ वटा सामुदायिक वनलाई १ लाखका दरले र एउटा वनलाई ७५ हजार रुपैयाँ अनुदान समेत उपलब्ध गराएको निस्दी सव डिभिजन वन कार्यालय मित्यालका प्रमुख नन्द प्रसाद अधिकारीले बताउनुभएको छ ।
निस्दीकै पकेट क्षेत्र कार्यक्रम अन्तर्गत ७४ घरधुरीलाई आफ्नो निजी जग्गामा वृक्षारोपण गर्न प्रति विरुवा २० रुपैयाँका दरले अनुदान कार्यक्रमको व्यवस्था गरेको अधिकारीले बताउनुभयो । वृक्षारोपण मात्र होइन अभियान सफल पार्न स्वस्थ्य बिरुवा र दिगो जीवनको लागि वन कार्यालयका प्राबिधिक,कर्मचारीहरुले सम्बन्धित क्षेत्रमै पुगेर प्राबिधिक सहयोग गर्दै आएका छन् ।
यसैबीच निस्दीका १० वटा नयाँ कबुलियती वनले २० हेक्टर क्षेत्रफलमा करिब ५६ हजार अम्रिसो रोपेको अधिकारीले जानकारी दिनुुुभयो।