निस्दीको आगामी बर्षको बजेट सार्वजनिक, ६० बर्ष उमेर पुगेका नागरिकलाई भत्ता दिइने
पाल्पा ।
जिल्लाको निस्दी गाउँपालिकाको ११औं गाउँ सभाले आगामी बर्षको बजेट पारित गरेको छ ।
आगामी आर्थिक वर्ष २०७९/०८० को लागि निस्दी गाउँपालिकाको कुल बजेट ६४ करोड ९८ लाख ६ हजार ५ सय ७० रुपैयाँ रहेको छ । बजेट अनुसारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले आत्मनिर्भर संगै व्यबसायिक र विकासमा जोड दिएर विकासशील गाउँपालिकामा निस्दीलाई रुपान्तरण गर्ने उल्लेख गर्नुभयो ।

नीति तथा कार्यक्रममा ६० वर्ष पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने गरि योजना निर्माण भएको छ ।`ग´वर्गको अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने, आगामी आर्थिक वर्षमा निस्दीको स्थानीय स्रोत साधन र सीपको उच्चतम प्रयोग गरी रोजगारी सिर्जना गर्ने, साथै दीगो विकास, वातावरणीय संरक्षण तथा सम्बर्द्धन गर्न सघाउ पुर्याउने कार्यक्रम सञ्चालन गरिने कार्यक्रममा उल्लेख छ ।
शिक्षा तथा स्वास्थ्यलाई विशेष जोड दिने, खानेपानी योजना ,विपद तथा प्रकोप नियन्त्रण एवं व्यवस्थापन गर्न नीति तथा कार्यक्रममा समेटेको छ । मगर भाषा , साहित्य , कला , संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै निस्दीमा गरिवी निवारण , पूर्ण सरसफाइ तथा लैंगिक तथा समावेशी विकासका लागि सामाजिक परिचालन कार्यक्रम सञ्चालन हुनेछ ।
सभामा गाउपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले आर्थिक वर्ष २०७९/०८० का लागि वार्षिक बजेट पेस गर्नुभएको हो।

उपाध्यक्ष श्रेष्ठले संघीय तथा प्रदेश सरकारको अनुदान , गाउँपालिकाको आन्तरिक आम्दानी र संचित कोष गरि कुल ६४ करोड ९८ लाख , ६ हजार ५ सय ७० रुपैयाँ बजेट विनियोजन गर्नुभएको छ । सभामा विधेयक समितिका संयोजक तथा वडा नम्बर ५ , गल्धाका वडा अध्यक्ष दुर्गा बहादुर सोमैले पेस गर्नुभएको आर्थिक विधेयक २०७९ र विनियोजन विधेयक (२०७९) पारित गरेको छ ।
