रामपुर ६ ले प्रस्तुत गर्यो बार्षिक नीति तथा कार्यक्रम
पाल्पा ।
जिल्लाको रामपुर नगरपालिका वडा नं. ६ वडा कार्यालयले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
आगामी आ.व. २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुर्दै रामपुर नगरपालिका ६ का वडा अध्यक्ष दिवाकर देवकोटाले कृषि, पर्यटन र शिक्षालाई वडाले जोड दिने बताउनुभयो । सडक पहुँच अन्य पूर्वाधार मर्मत मोवाईल टिम मार्फत गर्न नगरमा प्रस्ताव गर्ने, वडामा अब बन्ने घरको बाहिरी स्वरुप एउटै बनाउने,तोकिएको एउटै रंग घरमा लगाउनेलाई ५० प्रतिशत छुटको व्यवस्था गर्ने नीति कार्यक्रममा समेटिएको छ ।
पर्यटनको प्रचुर सम्भावना रहेका स्थल र उत्तर तर्फ सिमा शुरुदेखि अन्त्यसम्म कालीगण्डकी नदी बहेकोले पर्यटन प्रबर्द्धन र पर्यटनलाई आम्दानी संग जोड्ने रणनिती कार्यक्रममा उल्लेख छ । कृषिको विस्तार र रोजगारी सृजनाको लागि सार्वजनिक जग्गा लिजमा दिने कार्यक्रम वडाले अघि सारेको छ ।
रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामहरी पाण्डेले नीति तथा कार्यक्रममा राखिएका योजनालाई सम्बोधन गर्ने गरि बजेट निर्माण गर्न आग्रह गर्नुभयो । सोही अबसरमा समाजसेवी देवराज ढकालले वडामा प्रतिफल मिल्ने र आवश्यकता पहिचान गरेर कार्य गर्न आग्रह गर्नुभयो । निवर्तमान वडा अध्यक्ष हुमनाथ न्यौपानेले विगत बाकी कामलाई पूरा गर्दै नयाँ योजना प्राथमिकता स्वरुप ल्याउन अनुरोध गर्नुभयो ।
रामपुर नगर कार्यपालिका सदस्य यम बहादुर भुजेल, नेपाली कांग्रेसका वडा सभापति गोविन्द देवकोटा, राष्ट्रिय जनमोर्चाका हरि प्रसाद गैरे, नेकपा एकीकृत समाजवादीका तारा कंडेल, तालपोखरा संरक्षण समिती अध्यक्ष सागर प्रसाद देवकोटा, समाजसेवी कृष्ण प्रसाद अर्याल र पृथ्वी टिभिका व्यबस्थापक कृष्ण पौडेलले बोल्नुभएको थियो । वडाका ११ टोल विकास संस्थाले आ-आफ्नो टोलको योजना प्रस्ताव गरेका थिए ।
वडा अध्यक्ष दिवाकर देवकोटाको अध्यक्षतामा भएको कार्यक्रम कार्यपालिका सदस्य शारदा आचार्यको स्वागत र वडा सचिव बासुदेव ढकालको सञ्चालनमा भएको हो ।