रामपुरमा राष्ट्रिय भुमि आयोगको केन्द्र स्थापना
पाल्पा ।
यही असार भित्रै पाल्पाको रामपुरमा लालपुर्जा बितरण शुरु गर्ने जनाएको राष्ट्रिय भूमि आयोगले स्थानीय तहमा केन्द्र स्थापना गरेको हो ।
आयोगका केन्द्रिय अध्यक्ष केशव निरौलाले भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने गरि केन्द्र स्थापना गर्नुभएको हो । यस अघि ४ पटकसम्म भुमिहिन लगत माग भएर छानबिन सकिसकेका ७ सय ५३ त्यस्ता भुमिहिनलाई पहिलो चरणमा लालपुर्जा दिइनेछ ।
तत्कालिन गाविस, स्कुल, क्याम्पसले बिक्री गरेका रसिदको भरमा भोगचलन गर्दै वषौं देखि अव्यवस्थित रुपमा रहेका घरजग्गाको लालपूर्जा बितरण राजनितिक मुद्दा समेत भएको थियो । लालपुर्जा बितरण स्थानीय निर्वाचनको नारा समेत हुन पुगेकोमा राष्ट्रिय भुमी आयोगका अध्यक्ष केन्द्रिय अध्यक्ष केशब निरौलाको उपस्थितिमा भएको अन्तरक्रियामा निरौलाले लालपुर्जा दिने कार्यक्रम रामपुरबाट शुरु गरिने बताउनुभयो ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पाले आयोजना गरेको कार्यक्रममा आयोगका जिल्ला अध्यक्ष मोहनलाल गैरेले पाल्पामा बिगतमा धेरैपटक लालपुर्जा बितरण गर्ने कुरा निस्किएपनि अब भने यो समितिले पुर्जा बितरण गरेर पुर्जा बिहिन परिवारमा खुशी थपिदिने बताउनुभयो । जिल्ला अध्यक्ष भएपछि पटक-पटक रामपुरको अध्ययन र अबस्था बुझ्न आउनुभएका गैरेले पहिलेको आयोग र समितिले गरेर अन्तिम चरणमा पुर्याएको फाइलको समितिको टोलीले अध्ययन गरिरहेको जानकारी दिनुभयो । टोलीले लालपूर्जा वितरणका लागि खोलिएको सेवा केन्द्रको कार्यालयमा रही भूमिहिनहरुको लगत अध्यावधिक गर्नेछ ।
पहिलेको रामपुर नगरपालिका कार्यालय हालको रामपुर नगरपालिका वडा नं. ५ को वडा कार्यलयको तल्लो तलामा केन्द्र स्थापना गरिएको छ । निर्वाचन कार्यालय रहेको यहाँ निर्वाचनको कार्य सकिए संगै सुकुम्बासी समस्या निधानको लागि भुमि व्यबस्था सेवा केन्द्र स्थापना गरिएको हो ।
केन्द्र स्थापनाका अबसरमा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले अहिकेसम्म आयोगले नगरमा गरेका कामबारे जानकारी गराउदै लगत संकलन र पुर्जा बिहिन नागरिकको अबस्था मुल्यांकन भइसकेकोले आयोगको टोलीले अब प्रक्रिया अपनाई लालपुर्जा बितरण गर्ने बताउनुभयो ।