रातीमा पनि एकतर्फी खुल्यो आबुखैरेनी-मुग्लिन सडकखण्ड
शुक्रवार आँबुखैरेनी गाउँपालिका-४ पावर हाउस नजिक सडक भासिएपछि यातायात सञ्चालनमा रोक लगाइएको थियो। गएरातिदेखि भने अवरोध हटाएर नियमित सञ्चालनमा आएको हो ।
रातिको समयमा यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले रातमा यातायात सञ्चालनमा रोक लगाएको थियो । आइतबार बेलुकादेखि अवरोध हटाएर सानाठूला र हेभी सवारी साधन सञ्चालन भएको निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले बताउनुभयो ।
सडक डिभिजन कार्यालय दमौलीले सडक भासिएको कुनापट्टिबाट भित्ता काटेको छ । सडक मर्मत नहुँदासम्म भासिएको खण्डमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ ।
तर मुग्लिन पोखरा सडकखण्ड निर्माणका लागि याम्पाफाँट र घाँसीकुवा सडकखण्डमा राति ११ बजेदेखि बिहान ४ बजेसम्म यातायात आवागमन भने यसअघिको सूचनाअनुसार नै बन्द रहने प्रशासनले जनाएको छ ।