राईट टर्न’ गर्नुपर्ने जहाज ‘लेफ्ट टर्न’ गरेर भित्तामा ठोकिएको प्रारम्भिक अनुसन्धान- नेपाल नागरिक उड्डयन प्राधिकरण
काठमाडौं ।
खराब मौसमका कारण तारा एअरको ट्विनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एअरको विमान दुर्घटना भएको प्रारम्भिक अनुसन्धान भएको जानकारी दिनुभयो ।
संसद्को अन्तर्राष्ट्रिय समितिको साेमवारको बैठकमा दुर्घनाग्रस्त जहाजका बारेमा समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण ‘राईट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गरेर भित्तामा ठोकिएको प्रारम्भिक अध्ययनले देखाएको उहाँले बताउनुभयो ।
घटनाको जाँच–बुझ आयोग गठन गरी थप अनुसन्धान गरेर सत्य/तथ्य पत्ता लगाइने महानिर्देशक अधिकारीले विश्वास दिलाउनुभएको छ । घटनास्थल जोमसोम विमानस्थलबाट आठ नटिकल माइल दुरीमा पर्छ ।
हिजोदेखि हराइरहेको सो विमान मुस्ताङको थासाङ गाउँपालिका २ काे सानुसरे भन्ने भिरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा आज बिहान भेटिएको थियो । विमानमा सवार १९ यात्रु र तीन चालक दलका सदस्य सहित २२ जनाको निधन भएको छ ।
पोखराबाट आइतवार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान १० बजेर ७ मिनेटपछि सम्पर्कविहीन भएको थियो । पाँच वटा हेलिकोप्टरले आइतवार दिनभर खोजी गर्दा पनि फेला नपरेपछि आज बिहानै परिचालन भएको संयत्रबाट दुर्घटनाग्रस्त अबस्थामा जहाज भेटिएको हो ।