पाल्पाकी एक्ली महिला वडा अध्यक्ष चिदी
पाल्पा ।
तिनाउ गाउँपालिका वडा नं ५ मा इन्द्रा कुमारी गाहा चिदी पाल्पाकै एक्लो महिला वडाध्यक्ष बनेकी छन् ।
नेकपा एमालेबाट उम्मेदवार बनेकी वडा अध्यक्ष चिदीले गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका गणेश बहादुर रास्कोटीलाई २ सय ६८ मत अन्तरले पराजित गर्दै वडाध्यक्ष बन्ने सौभाग्य पाएकी हुन् ।
एमालेकी चिदीले ९ सय ४५ मत प्राप्त गरी विजयी हुुँदा माओवादी केन्द्रका रास्कोटीले ६ सय ७७ मत प्राप्त गरी पराजित भए । ४४ वर्षीया चिदी लामो समयदेखी सामाजिक,राजनीतिक क्षेत्रमा सक्रिय रहदै आएकी महिला हुन् । आमा समूहमा काम गर्दै वडा नागरिक मञ्चको संयोजक बनेर लामो समय सामाजिक क्षेत्रमा काम गरेकि छन् । २०७४ सालको स्थानीयतह निर्वाचनमा खुला सदस्यबाट निर्वाचित भएकी चिदी जिल्ला समन्वय समितिको सदस्य समेत भई ५ बर्षसम्म काम गरेकी छन् ।
श्रीमान यमबहादुर चिदीको पूर्ण सहयोगबाटै राजनीति तथा सामाजिक काममा सक्रिय हुन पाएकि हुन् । एसएलसीसम्म अध्ययन गरेकी चिदीका श्रीमान र २ छोरी छन् । वडाध्यक्षमा निर्वाचित भएसँगै चिदीले वडाका महिलाहरुलाई शसक्तीकरण र आयआर्जनमा जोड्ने निर्णय गरेकी छन् ।
घर,परिवार र समाजमा महिला सक्षम भएमात्र उन्नती प्रगती हुने भएकाले शसक्तीकरण र आयआर्जनको पाटोमा महिलालाई जोड्ने आफ्नो मुख्य ध्येय रहेको उनले बताईन् । यहाँ अधिकाश मगर समुदायमा बाल विवाहको प्रचलन रहेकाले गाउँमा आमा समूह, महिला समूह परिचालन गरी बालविवाह पूर्ण रुपमा अन्त्य गर्ने वडा अध्यक्ष चिदीले अठोट लिएकी छन् । घर–घरमा आय आर्जन बढाउन कोल्डाँडा र चर्चरे क्षेत्रलाई कृषि पकेट क्षेत्रको रुपमा विकास गर्न बाह्रै महिना सिंचाइ सुविधाको लागि काम गर्ने उनले बताईन् ।
एक घर-एक धारा नभएका केही बस्तीमा पहिलो प्राथमिकतामा खानेपानीको सुविधा दिने चिदीको योजना छ । वडाको सबै टोलबस्तीमा मोटरबाटो पुगे पनि वर्षायाममा समेत यातायात सञ्चालन गर्न मिल्ने गरी कच्ची सडकहरुलाई स्तरउन्नती गर्ने उनले बताईन् ।