2

Logo २०८३ बैशाख १३ आइतबार
माटो उपलब्ध नभएको दुःखेसो पोख्दै पाल्पाका कुमाल समुदाय

माटो उपलब्ध नभएको दुःखेसो पोख्दै पाल्पाका कुमाल समुदाय


शुशिला रेग्मी प्रकाशित मिति : बिहिबार, बैशाख २९ २०७९
792

पाल्पा ।

जिल्लाको रामपुर नगरपालिका–१० स्थित तल्लो कुमाल गाउँ बस्ने ५२ वर्षीय बलबहादुर कुमाल माटो अभावमा आफूहरुको पेशा नै लोप हुने अवस्थामा पुगेको बताए । यतिबेला मत माग्दै आँगनमा आएका उम्मेदवारहरुसामु उनले यही दुःखेसो पोख्ने गरेका छन् ।उनले भने , “माटोको अभावमा हाम्रो पुख्र्यौली पेशा लोप हुँदै जान थालेको छ । पेशा जगेर्नाका लागि माटोको व्यवस्था हुनुप¥यो । उत्पादन भएका सामानको बिक्री वितरण गर्न उतिक्कै गा¥हो छ । उम्मेदवारले हाम्रो माग पूरा गरिदिनुपर्छ ।”आफूले घरमा बनाएका हाँडी, घैंटा, भुड्का, खुत्रुके, पाला लगायतका माटाका भाँडाकुँडा अझैपनि डोकोमा बोकेर पाल्पा, स्याङ्गजा जस्ता जिल्लाका विभिन्न गाउँठाउँमा बिक्री गर्न उनी पुग्छन् ।

त्यसैगरी, आफ्नो घरमा भोट माग्न आउने उम्मेदवारसामु आफूहरुलाई व्यवसाय गर्न सहज बनाइदिन माटो र दाउराको व्यवस्था गरिदिने उम्मेदवारलाई मत हाल्ने बताउनुहुन्छ, ६८ वर्षीय मनबहादुर कुमाल । कुमाल गाउँमा सबैका घर–घरमा माटोका भाँडा बन्थ्यो, घरका आँगन र पिँढीमा लहरै भाँडा सुकाइन्थ्यो । अहिले भने यहाँका दुई चार घरले मात्रै यो पेशा अपनाइआएका छन् । रामपुर–१० मा तल्लो र माथिल्लो कुमाल गाउँ छन् । यहाँ करिव दुई सय कुमाल परिवार बसोबास गर्दछन् ।

आफ्नो पुख्र्यौली पेशालाई धान्दैआएका ज्येष्ठ सदस्यहरुमा सीप हस्तान्तरणको चिन्ता छ । यो पेशालाई नयाँ पिँढीले अङ्गाल्न सकेका छैनन् । आफूले भोग चलन गर्दैआएको सार्वजनिक जग्गामा माटो निकाल्न रोक लगाएपछि पेशा सङ्कटमा परेको बताउनुहुन्छ, रामपुर नगरपालिका–६ तिलकपुरका युवा सोमबहादुर कुमाल । यहाँको बचाइनी भन्ने स्थानमा सुरक्षा बेस क्याम्प बसेपछि माटो निकाल्न रोक लगाइएको हो ।
तिलकपुर क्षेत्रमा मात्रै कुमाल समुदायको करिव दुई सय परिवार छ । पहिले सबै घरमा माटोको भाँडा बनाउने गरिएपनि अहिले माटो अभावले पेशा छाड्दै जाँदा सोमबहादुर एक्लैले यो व्यवसाय धानिरहेका छन् । यो पेशालाई निरन्तरता दिने चाहना भएपनि माटो पर्याप्त मात्रामा उपलब्ध नहुँदा उहाँलाई निल्नु न ओकल्नु जस्तै भएको छ ।

“माटो किनेर भाँडा बनाउनु पर्दा मेहनत अनुसारको लगानी उठाउन कठिन छ, सहज रुपमा माटो उपलब्ध गराइदिए पेशालाई निरन्तरता दिनेछु, स्थानीय सरकारले परम्परागत पेशालाई निरन्तरता दिन माटोको व्यवस्था गरिदिन प¥यो,” उनले भने् । आफूले उत्पादन गरेका भाँडा बेझाड बजारका व्यापारीहरुलाई उहाँ बिक्री गर्नुहुन्छ । हिन्दु संस्कार अनुसार पूजाआजा, धार्मिक कार्यका लागि माटाका भाँडा नभई नहुने भएकाले कतिपय ग्राहक उनको घरैमा पुग्ने गर्छन् ।

रामपुर नगरपालिकाको गेझा, तिलकपुर, भलायटार क्षेत्रमा कुमाल समुदायको बाक्लो वस्ती छ । वर्षौंदेखि गर्दैआएको यो पेशा सङ्कटमा पर्न थालेपछि कतिपय कुमालहरु ज्याला मजदूरी गरी दैनिक गुजारा गर्न बाध्य भएका छन् । हाँडी, घैँटा, चिलिम, पाला, खुत्रुके लगायतका घरायसी उपयोगका भाँडा बनाउने माटाको सट्टा प्लाष्टिकका भाँडाको प्रयोग बढ्दै जाँदा व्यवसाय लोप हुने भय बढेको भन्दै बूढापाकाहरु चिन्ता व्यक्त गर्छन् ।

माटोको भाँडा बनाउन चिम्ट्याइलो माटो आवश्यक पर्छ । यस्तो माटो सबैतिर पाइँदैन । तीन थरीको माटो मिसाएर खुट्टाले मुछ्नुपर्छ । अहिले माटो मुछ्न मेसिन प्रयोग गर्ने गरिए पनि गाउँघरमा मेसिनको प्रयोग छैन । ग्राहकले कस्तो आकारको भाँडा खोजेको छ सोही अनुसार हातले आकार दिने हो । राम्रो आकार दिन सकिए छिटो खपत हुन्छ । तयार पारिएको भाँडालाई घाममा सुकाउने, रङ्ग लगाउने, भट्टीमा हालेर पोल्ने गरिन्छ । भट्टीमा हालेपछि भाँडा तयार हुन कम्तीमा पनि दश दिनको समय लाग्ने गरेको व्यवसायीहरु बताए। जिल्लाको घोरबन्दा, पोखराथोक, रामपुर, गेझा, चिर्तुङ्गधारा, ख्याहा लगायतका स्थानमा बसोबास गर्दैआएका कुमाल जातिले माटाका भाँडा बेचेर आफ्नो जीवन निर्वाह गर्दैै आएपनि अहिले पेशा नै लोप सङ्घारमा पुगेको छ ।

सामान तयार पार्न चाहिने कच्चा पदार्थ माटो र दाउराकै समस्या मात्र हैन, बजारको पनि समस्या छ ।पहिलेदेखि नै माटो निकाल्दै आएको ठाउँमा अहिले सडक बनेपछि माटो निकाल्न नपाएको उनकी श्रीमती कखरी कुमालले बताइन् ।कुमाल दम्पतीको दश जनाको परिवारको गुजारा यसैबाट चलिआएको छ । बाउबाजेको पालादेखि अपनाइआएको यो पेशाबाट टाढा रहन उनलाई मन छैन ।उनले भनिन् , “हातमा भएको सीप भनेको माटाका भाँडा बनाउने नै हो । अरु पेशा व्यवसाय छैन । भाँडा बनाएर बिक्री गरेमा दुई चार पैसा त हात पर्छ तर, अहिले समस्या छ ।”माटोकै समस्याले कमै मात्रामा भाँडा तयार पार्ने गरेको बताइन्, ७० वर्षीय देवका कुमाल । ग्राहकको माग र रोजाइ अनुसारका सबै प्रकारका भाँडा बनाउने गरिए पनि आवश्यक माटो निकाल्ने ठाउँ नहुँदा व्यवसाय धान्न मुस्किल परिरहेको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com