पाल्पाको स्थानीय तह निर्वाचनको प्रतिस्पर्धामा ४ पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी
पाल्पा ।
पाल्पामा स्थानीय तहको निर्वाचनमा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा उत्रिएका छन् । आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि जिल्लामा गाउँपालिका अध्यक्ष र वडाध्यक्षमा गरि उनीहरू उम्मेदवार बनेका हुन् ।
नेपाल पत्रकार महासङ्घ पाल्पाका निवर्तमान अध्यक्ष राजेशकुमार अर्याल नेकपा (एमाले)बाट तानसेन नगरपालिका–९ को वडाध्यक्षमा उम्मेदवार बन्नुभएको छ । एमालेबाटै तानसेन–८ मा सोमनाथ अर्याल र ओमप्रकाश गैरे बगनासकाली गाउँपालिका–५ को वडाध्यक्षको उम्मेदवार बन्नुभएको छ । बगनासकाली गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट पत्रकार अम्बिका पाण्डेले उम्मेदवारी दिनुभएको छ ।
आसन्न निर्वाचनमा दुई स्वास्थ्यकर्मी र दुई प्रधानाध्यापक राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । माथागढी गाउँपालिकामा एमालेबाट पालिका अध्यक्षमा सिनियर अहेबबाट राजीनामा दिनुभएका यमबहादुर चिदी र उपाध्यक्षमा अनमीबाट राजीनामा दिनुभएकी विष्णुमाया लुङ्चे उम्मेदवार बन्नुभएको छ । राजीनामा दिनुअघि चिदी जिल्लास्थित स्वास्थ्य बीमा बोर्ड प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो । लुङ्चे माथागढी गाउँपालिकाको गोठादी स्वास्थ्य चौकीमा अनमी पदमा कार्यरत रहनुभएको थियो ।
रामपुर नगरपालिका–९ को प्रगतिशील प्राथमिक विद्यालयका प्रधानाध्यापक नेत्र गाहा पनि एमालेबाट रामपुर–९ मा वडाध्यक्षको उम्मेदवार बन्नुभएको छ । पूर्वखोला–५ स्थित गणपति माविका प्रधानाध्यापक विष्णु पल्ली शिक्षकबाट राजीनामा दिएर एमालेबाट वडाध्यक्षमा उम्मेदवार बन्नुभएको हो ।