पाल्पामा ७५ जनाले फिर्ता लिए उम्मेद्बारी
पाल्पा ।
पाल्पा जिल्लामा स्थानीय तह निर्वाचनमा उम्मेद्बारी दिएका ७५ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् ।
विभिन्न दलमा आबद्ध र स्वतन्त्र रुपमा उम्मेदवारी दिएका ७५ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । ७५ जना उम्मेदवारले मनोनयन फिर्ता लिएपछि जिल्लामा १ हजार ७२ जनाको विभिन्न पदमा उम्मेद्वारी कायम भएको जिल्ला निर्वाचन अधिकारी रुक्मागत अर्यालले जानकारी दिनुभयो ।
जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा गठबन्धन दलसँग रुष्ट रहेका स्वतन्त्र उम्मेदवार सहित १७ जनाको फिर्ता भएको छ । यस्तै रिब्दीकोटमा आठ, तानसेनमा आठ, बगनासकालीमा १९, तिनाउमा ६, माथागढीमा तीन जना उम्मेदवारले मनोनयन फिर्ता लिएको निर्वाचन अधिकारी अर्यालले जानकारी दिनुभयो । यस्तै पूर्वखोलामा एक, निस्दीमा एक र रामपुरमा १२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । रम्भामा भने कसैले पनि उम्मेदवारी फिर्ता नलिएको उहाँले बताउनुभयो ।
उम्मेदवारी फिर्ता लिएपछि रैनादेवी छहरामा एक सय दुई, रिब्दीकोटमा ९२, बगनासकालीमा एक सय ४६, तिनाउमा ७६, माथागढीमा एक सय ३३, निस्दीमा ८३, पूर्वखोलामा ७१, रम्भामा ६१, रामपुरमा १ सय २६ र तानसेनमा १ सय ८२ जनाको उम्मेद्वारी कायम भएको छ । उम्मेद्वारी फिर्ता लिनेमा अधिकांश काङ्ग्रेस, एमाले, माओवादीसँग रुष्ट बनेका कार्यकर्ता रहेका छन् । पार्टीको निर्देशन अनुसार आफूहरूले उम्मेदवारी फिर्ता लिएको उनीहरूको भनाई छ । रामपुरमा एकीकृत समाजबादीका १२ जनाले फिर्ता लिएका हुन् ।
यसैबीच, जिल्लामा विप्लव नेतृत्वको नेकपाका नेताहरूले समेत उम्मेदवारी फिर्ता लिएका छन् । तिनाउ गाउँपालिकामा ६ र रैनादेवी छहरामा २ जनाले उम्मेदवारी दिएकोमा सबैले फिर्ता लिएको नेकपा पाल्पाका पूर्व सेक्रेटरी भुवन जिसीले जानकारी दिनुभयो । तिनाउमा एमालेसँग सहकार्य गर्ने गरी सबैले उम्मेदवारी फिर्ता लिएको बुझिएको छ ।