स्याङ्जामा संचारमा महिलाको पहुँच बिषयक कार्यक्रम सम्पन्न
स्याङ्जा ।
संचारमा महिलाको पहुँच बढाउने उद्देश्यले स्याङ्जाको चापाकोट नगरपालिका ६ साखरमा “संचारमा महिला पहुँच” बिषयक कार्यक्रम सम्पन्न भएको छ । चापाकोट नगरपालिका न्यायिक समितिको आयोजना र खबर भण्डार प्रालिको सहआयोजनामा भएको कार्यक्रममा साखरका ६५ जना महिलाको सहभागिता रहेको थियो ।

तालिम उद्घाटन गर्नुहुदै चापाकोट नगरपालिकाका उपप्रमुख बिमला श्रेष्ठले सन्चार बिना मान्छे बाच्न नसक्ने बताउनुभयो । एक अर्का बिचका कुरा र ति कुरा सम्बन्धित सम्म पुर्याउनु नै सन्चार भएको उहाँले बताउनुभयो । प्रबिधिको फड्को संगै हामीले सन्चारका माध्यम प्रयोग गरेर अघि बढ्न र त्यहाँ पुग्न पनि पहुँच हुनु जरुरी छ श्रेष्ठले भन्नुभयो-महिलाका मुद्दा र सवाल संचार माध्यममा पुर्याउन र संचारमा महिलाको सरल पहुँच बढाउन महिलाले नै ध्यान दिनुपर्छ । संचारको विकास संगै बिकृति पनि देखापरेकोले सिकाई, सीप र विचारका लागि सकारात्मक कुरामात्र ग्रहण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । संचारको सजिलो माध्यम मोबाइलले मानिसलाई बिगारेको पनि छ राम्रो बनाएको पनि छ, त्यसैले सकारात्मक सिकाइ र सुन्ने, बुझ्न खोज्ने र बिचार दिन सक्ने गरि अघि बढे महिलाको व्यक्तित्व संगै, सामाजिक र चेतनाको स्तर बढ्ने र यसले समाज र नेतृत्वमा पुर्याउन सघाउने उहाँको भनाई थियो ।

तालिमको सहजिकरण गर्दै पत्रकार सीता डोटेलले सुचना संचारले व्यक्तिलाई शक्तिशाली बनाउने बताउनुभयो । २१ औ शताब्दीमा संचारको पहुचमा नागरिक रहेपनि संचारका माध्यममा महिलाका मुद्दा र सन्चार महिलाको हिस्सेदार हुनुपर्नेमा जोड दिनुभयो । नेपालका हरेक क्षेत्रमा महिलाको पहुच बढाउन आवश्यक रहेको बताउदै पत्रकार डोटेलले महिलाका मुद्दामा स्थानीय सरकारले बहस चलाउनुपर्ने बताउदै गलत र सही सुचना निक्योल गरि सकारात्मक बिचार ल्याउनुपर्ने बताउनुभयो ।

चापाकोट नगरपालिका ६ का मेलमिलापकर्ता संयोजक नारायण पोखरेलले संचारले धेरै कुरा सिकाउने हुँदा मानिस सधै सिक्ने र नयाँ बिचार पैदा गर्न मद्दत पुर्याउने बताउनुभयो ।
कार्यक्रममा संचार के हो? यसको महत्व, आवश्यकता, संचारले पार्ने सकारात्मक र नकारात्मक प्रभाव तथा महिलाले संचारको प्रयोग र संचारमा महिलाको मुद्दा बिषयमा सहजिकरण गर्नुभएको हो ।
खबर भण्डार डट कमका संचालक मिलन भट्टराईको अध्यक्षतामा चलेको कार्यक्रमको संचालन तारा पोखरेलले गर्नुभएको हो ।


