रामपुर साना शहरी खानेपानीको पाचौं साधारण सभा, महशुल घटाउन प्रस्ताब
पाल्पा । पाल्पाको रामपुरमा संचालित रामपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाको पाचौं साधारण सभा सम्पन्न भएको छ ।
सभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य युवराज खनालले जनतालाई खानेपानी पुर्याउन प्रदेश सरकार निरन्तर लागेको बताउनुभयो । “तीन वटै सरकार समन्वय गरेर अघि बढेमात्र एक घर एक धाराले सार्थक पाउछ, खनालले भन्नुभयो-ठुला योजना केन्द्र प्रदेशबाट ल्याएर स्थानीय सरकारले उत्तिकै भुमिका खेल्नुपर्छ” । स्थानीय सरकारले देखिने काम गर्नमा अलमल भएको उहाँले टिप्पणी गर्नुभयो ।

सस्थाका अध्यक्ष राजु प्रसाद श्रेष्ठले प्रतिबेदन प्रस्तुत गर्दै सस्थाको बिगत र बर्तमानको अबस्थाबारे जानकारी दिदै आगामी कार्ययोजना प्रस्तुत गर्नुभयो । उहाँले खानेपानी महसुल केहि घटाउने प्रस्ताब गर्नुभएको छ भने स्थानीय सरकार संगै समन्वय गर्दै खानेपानी पाइप, धाराको काम र सरसफाइमा ध्यान दिने र प्रदेश सरकार संग खानेपानी रिजर्भ क्षमताको लागि काम बढाउने बताउनुभयो ।

संस्थाका कोषाध्यक्ष बिष्णुमाया ढकालले ५ करोड ४६ लाख ६३ हजार ४७ रुपैया ३९ पैसा बराबरको कारोबार प्रतिबेदन प्रस्तुत गर्दै अझ ऋण तिर्न बाकी रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराई, नेकपा एमाले रामपुर नगर अध्यक्ष विष्णु प्रसाद रेग्मी, राष्ट्रिय जनमोर्चा नेपालका जिल्ला सदस्य हरि प्रसाद गैरे, सस्थाका पुर्व उपाध्यक्ष तथा रामपुर नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपाने, संस्थाका पूर्व अध्यक्ष कमलराज भट्टराई, रामपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रुद्रनारायण श्रेष्ठ, रामपुर पर्यटन विकास समितिका अध्यक्ष श्यामकान्त खनाल, पृथ्वी टेलिभिजनका व्यबस्थापक कृष्ण पौडेल, उपभोक्ता ज्ञानेन्द्र प्रसाद गैरे र राजेन्द्र प्रसाद लम्सालले शुभकामना व्यक्त गर्नुभएको थियो ।

सहलगानी अन्तर्गत सरकार र उपभोक्ताको ५०/५० प्रतिशतमा नगर विकास कोषको ४५% ऋण र उपभोक्ताको ५% रकम गरि २६ करोड ४० लाख,१५ हजार, ८ सय ५७ रुपैयाको कुल लागतमा आयोजना निर्माण भएको हो । सम्झौता अनुसार तोकेको समयमा निर्माण पुरा हुन सकेन।
बि.स.२०६७ मङ्सिर ५ गते योजना छनौट देखि निर्माण प्रक्रिया शुरु भएको आयोजना ७० सालमा आएर निर्माणले तिब्रता पाएको थियो । हाल ५ स्थानमा डिप बोरिङबाट नियमित उपभोक्ताको घर घरमा पानी पुर्याइएको छ । कुल ३हजार ७ सय ३० उपभोक्ता सदस्य रहेको खानेपानी आयोजना ३ हजार २ सय ५३ घरमा धारा जडान भएको छ ।

रामपुर नगरपालिका वडा न ४ र ७ का केही भागमा आयोजनाको पानी पुगेको छ भने रामपुरको मुख्य भाग बजार क्षेत्रका वडा नम्बर ५ र ६ का सबै बस्तीमा यस खानेपानी पुगेको छ ।
खानेपानी संस्थाका अध्यक्ष राजु प्रसाद श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष हजिल दिन मियाँको स्वागतबाट शुरु भएको कार्यक्रममा सस्थाका सदस्य टेक बहादुर वि.क.ले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव शालिकराम सिग्देलले गर्नुभएको हो ।