बर्षाले धानबाली नष्ट पुर्याएका किसानलाई पाल्पामा राहत
पाल्पा ।
बेमौसमी वर्षाले पुर्याएको क्षतिको राहत स्वरुप पाल्पाका ८ सय ९९ जना किसानले सहयोग पाउने भएका छन् ।
झण्डै काट्ने बेलाको धान असोज महिनाको अन्तिम साता परेको बेमौसमी वर्षाले बाली नष्ट गरेको थियो । सरकारले क्षति माग फारम र अनुगमनका आधारमा किसानलाई राहत दिइने पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो । विपद् व्यवस्थापन समितिको बैठकले गरेको मुल्यांकनका आधारमा सबैभन्दा बढी मुल्यको क्षति पुगेको जिल्लाको तिनाउ गाउँपालिकाका १ सय ८१ किसानलाई ६ लाख २६ हजार एक सय ८० रुपियाँ, तानसेनका ४० जना किसानलाई १ लाख ६५ हजार ७ सय ३२ रुपियाँ, रैनादेवी छहराका १ सय ४२ जना किसानलाई ४ लाख ८२ हजार ९ सय ६ रुपियाँ राहत रकम उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो ।
यस्तै रम्भा गाउँपालिकाका ३७ जना किसानले १ लाख ३ हजार ९० रुपियाँ, माथागढी गाउँपालिकाका १ सय किसानले ४ लाख ४२ हजार ९ सय ६ रुपियाँ, निस्दीका ८२ जना किसानले ३ लाख ३८ हजार ६ सय ७० रुपियाँ राहत पाउनेछन् ।
पूर्वखोला गाउँपालिकामा सबैभन्दा बढी किसान २ सय ५ जना किसानले पाँच लाख ६७ हजार नौँ सय ७२ रुपियाँ, रामपुर नगरपालिकाका छ जना किसानले १६ हजार आठ सय १३ रुपियाँ, रिब्दीकोट गाउँपालिकाका ६४ जना किसानले एक लाख ७३ हजार आठ सय ९९ रुपियाँ र बगनासकाली गाउँपालिकाका ४२ जना किसानले दुई लाख ८७ हजार आठ सय ८९ रुपियाँ राहत पाउने निर्णय भएको छ ।
विपद् व्यवस्थापन समितिको बैठकले २०७८ कात्तिक महिनादेखि २०७८ चैत २२ गतेसम्म विपद्का घटनामा परी मृत्यु हुने दुई जनालाई ३ लाख रुपियाँ, घर क्षति भएका १३ परिवारलाई ७७ हजार रुपियाँ राहत रकम दिने निर्णय गरेको छ । यस्तै कोरोनाका कारण मृत्यु भएका ९ परिवारलाई प्रति परिवार १ लाखका दरले रकम र बाढी पहिरो प्रभावित २३ घरपरिवारलाई ९ लाख १० हजार रकम राहत दिने निर्णय गरेको छ ।